भद्रपुर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महीनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब ४ करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेललगायत आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु १ अर्ब ६ करोड ४३ लाख अर्थात् ५ दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयात घटेको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट उठ्ने राजस्व भने ५ दशमलव ७० प्रतिशत अर्थात् रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालू आवको ११ महीनामा पेट्रोलियम पदार्थ आयातबाट रु ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु ८ अर्ब ११ करोड ५९ लाख मूल्य पर्ने ९३ हजार ८२४ किलोलीटर पेट्रोल आयात भएको थियो । यसैगरी रु ६ अर्ब २६ करोड ७१ लाख बराबरको ६८ हजार ८२० किलोलीटर डिजेल आयात भएको छ ।
सोही अवधिमा रु २ अर्ब ५९ करोड मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, रु ६१ करोड २० लाख मूल्य पर्ने ६ हजार ७०८ किलोलीटर एटीएफ र रु २२ करोड ७१ लाख मूल्य पर्ने २ हजार ५२० किलोलीटर मट्टितेल आयात भएको छ । रासस