विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६५ स्थानमा विभिन्न कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको जानकारी दिएको छ । संस्थाले हरेक वर्ष वैशाख ७ गते ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाउँदै आएको छ ।
संस्थाका ७१ ओटा शाखाले विपन्न परिवारको घर निर्माण तथा मर्मतमा सहयोग गरेको बताइएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–४, पिडारीकी गोदी चौधरी, मोरङको धनपालथान गाउँपालिका–६, लोहन्द्राघाटकी मोनिया कामत र धनपालथान गाउँपालिका–२ की इनरवती ऋषिदेवको घर निर्माणमा संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत विभागीय प्रमुखसहित केन्द्रीय कार्यालयका कर्मचारी खटिएका थिए । अन्य स्थानमा शाखा कार्यालयका कर्मचारी, सदस्य, थ्री जिरो क्लब र स्थानीयले घर निर्माण र मर्मतमा श्रमदान गरेका थिए ।
शुक्रवार लघुवित्तले १७ स्थानमा वृक्षरोपण, २१ स्थानमा बजार र १३ स्थानमा मठमन्दिर सरसफाइ गरी डस्टबिन वितरण गरेको थियो । ३५ स्थानमा विद्यालय सरसफाइ, डस्टबिन वितरण तथा हाजिरीजवाफ कार्यक्रम गर्नुका साथै शैक्षिक सामग्री पनि वितरण गरेको बताइएको छ ।
२४ जिल्लामा फैलिएको यो संस्थाले १६० शाखामार्फत ३ लाख २५ हजारभन्दा बढी परिवारलाई वित्तीय सेवा दिनुका साथै विभिन्न सामाजिक अभियान सञ्चालन गरिरहेको छ ।