काठमाडौं । ‘बच्चा बेलादेखि मलाई आमाले सियो र कैंची हातमा थमाइदिनुभयो अनि बुबाले यसको महत्त्व बुझाउँदै भन्नुभयो- केही काम सिक्नुपर्छ छोरी ।
बुबाआमाका यिनै वाक्यलाई आत्मसात गरेर फेसन डिजाइनमा ज्ञानीशोभा तुलाधरले ५ दशक खर्चिएकी छन् । सन् १९७० ताका एउटा सियो र कैंचीबाट शुरू भएको उनको व्यावसायिक यात्रा अनुकरणीय र प्रेरणादायीसमेत छ ।
न्यू बिजनेश एज लिमिटेडले पाँचौं संस्करणको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट यस वर्ष नेपाली फेसन उद्योगका सूत्राधार ज्ञानीशोभालाई सम्मान गरेको छ । ‘न्यूबिज बिजनेश विमिन समिट एन्ड अवार्डस्- २०२५’ कार्यक्रममा महिला उद्यमशीलता र नेपाली फेसन उद्योगमा पुयाएको योगदानको कदरस्वरूप ज्ञानीशोभालाई उक्त सम्मान प्रदान गरिएको हो ।
अवार्ड ग्रहण गरेपछिको कुराकानीमा उनले भनिन्, ‘अहिलेको नयाँ पुस्ताले आत्मसम्मानका साथै अर्कालाई पनि सम्मान दिने बानीको विकास गर्नुपर्छ, आफ्नो सम्मानलाई मात्र केन्द्रमा नराखौं । अहिले कस्तो जमाना भयो भने आत्मसम्मानलाई बढी महत्त्व दिइयो, आफ्नो सम्मान भन्दै गर्दा अरूलाई अनादर नगरौं ।’
सन् १९५१ को मे ७ मा काठमाडौंमा जन्मेकी तुलाधर झन्डै ५ दशकदेखि नेपाली फेसन उद्योगमा सक्रिय छिन् । सन् १९७० ताका एउटा सिलाइ मेसिनबाट उद्यम यात्रा शुरू गरेकी उनले सन् १९९७ मा उनले ‘नमूना इन्स्टिच्युट अफ टेक्नोलोजी’ र सन् २००२ मा ‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’ खोलिन् ।
कलेज स्थापना गरेर शीपमा आधारित डिग्री दिने कामको शुभारम्भ गरेकी उनले फेसन डिजाइन शिक्षाको आधारशिला बसाल्ने सपना साकार पारिन् ।
उनी १०० भन्दा बढी नेपाली चलचित्रका पोसाक डिजाइनर, अन्तरराष्ट्रिय फिल्म ‘द लाइट ट्रेन टु काठमाडौं’ र फ्रेन्च फिल्म ‘यती’ की पोसाक डिजाइनर पनि बनिसकेकी छन् । उनले सञ्चालन गरेको फेसन उद्योगबाट विभिन्न एयरलाइन्स, बैंक, होटेल तथा क्यासिनोका पोसाक डिजाइन हुने गरेका छन् । सन् १९९९ को मिस नेपालमा उनले डिजाइन गरेको ड्रेसले ‘बेस्ट ड्रेस अफ इयर’को उपाधिसमेत जितेको थियो ।
यसरी फेसनको जग बसाल्न उनको महत्त्वपूर्ण योगदान छ। ‘यो अवधिमा म कहिले पनि रोकिइनँ, एउटा सियो र कैंचीबाट मैले अहिले साम्राज्य खडा गरेकी छु,’ उनले भनिन् ।