यदि तपाईं अत्यधिक कार्यभार लिनुपर्ने रोजगारीमा छन् भने सावधान ! ज्यादै बढी काम गर्दा तपाईंको मानसिकतामा नकारात्मक प्रभाव पर्न सक्छ । कामको अत्यधिक माग गर्ने रोजगारले मानिशहरूको मानसिक स्वास्थ्यमा बेरोजगार बस्नुजत्तिकै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ ।
अष्ट्रेलियाको नेशनल विश्वविद्यालयका प्राध्यापक पिटर बटरवर्थले नेतृत्व गरेको मनोविज्ञहरूको टोलीले एक अध्ययनपछि बताएअनुसार अत्यधिक कार्यभार भएका कर्मचारीहरूको मानसिक अवस्था क्रमश: बिग्रिन सक्ने सम्भावना देखिएको छ । अनुसन्धानकर्ताहरूले रोजगारीले कर्मचारीमा पार्न सक्ने मनोवैज्ञानिक प्रभावलाई विभिन्न तत्वहरूका आधारमा मापन गर्न सक्ने बताए ।
तिनमा धेरैभन्दा धेरै खट्नुपर्ने अवस्था, कमजोर रोजगार सुरक्षा, कामका क्रममा पाइने न्यून स्तरको सम्मान र कर्मचारीको काममाथिको थोरै नियन्त्रण रहेको उनीहरूको भनाइ छ । ‘हाम्रो अनुसन्धानले कर्मचारीहरूको मानसिक स्वास्थ्य रोजगारीका राम्रा अथवा नराम्रा अवस्थासँग अन्तर्सम्बन्धित हुने अवधारणालाई समर्थन गरेको छ,’ प्राध्यापक बटरवर्थले भने । कामको खराब अवस्था बेरोजगार मानिशहरूमा देखिने मानसिक तनावजस्तै प्रकृतिको हुने उनको भनाइ थियो ।
वर्ष ८, अंक ६८, सोमवार १० मङ्सिर, २०६९