- यदि अमेरिका आक्रमणमा पर्यो भने राष्ट्रपति, सेनापतिहरू र अन्य अधिकारीहरूले सुरक्षित स्थानबाट काम जारी राख्न सक्नेछन्, जसले नेतृत्वको अभावबाट उत्पन्न अराजकताबाट जोगाउँछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वव्यापी परमाणु युद्ध शुरू भएमा केही गोप्य स्थानतर्फ भाग्न सक्नेछन् भन्ने कुरा गोप्य ‘डूम्सडे योजना’हरूले खुलासा गरेका छन् । इरान वा अन्य परमाणु शक्तिहरूसँगको युद्धजस्ता विनाशकारी घटनाको सन्दर्भमा अमेरिकी सरकारसँग सरकारलाई निरन्तरता दिन कन्ट्युनिटी अफ अपरेसन्स प्लान भन्ने एउटा रणनीति छ जसले देश सञ्चालन भइरहने सुनिश्चित गर्छ ।
ठूलो संख्यामा शहरहरू विनाश भए पनि यो योजनाले राष्ट्रिय सुरक्षा, आर्थिक स्थिरता र जनसुरक्षाजस्ता अत्यावश्यक सरकारी कार्यहरू निरन्तर सञ्चालन भइरहुन् भनेर सुनिश्चितता गर्छ । कोलोराडो, पेन्सिल्भेनिया वा भर्जिनियामा रहेका किल्लाजस्तै सुरक्षित बंकरहरूबाट ट्रम्प प्रशासन वा भविष्यका राष्ट्रपति कार्यालयहरूले परमाणु विनाशको खतरा हुँदाहुँदै पनि देशको शासन सञ्चालन गर्न सक्छन् ।
भर्खरैका दिनहरूमा राष्ट्रपतिको आपत्कालीन कमाण्ड विमान अमेरिकाको विभिन्न भूभागहरूमा उडिरहेको देखिएपछि अमेरिकीहरूबीच यो योजना लागू हुने हो कि भन्ने डर फैलिएको थियो । उडान ट्र्याकरहरूले १७ जुनमा लुजियानाबाट मेरिल्यान्डतर्फ उडिरहेको बोइङ इ–बी ‘नाइटवाच’ नामक विमान देखेका थिए, जसलाई ‘डूम्सडे प्लेन’ (प्रलय विमान) पनि भनिन्छ । चार दिनपछि अमेरिकाले इरानका तीनओटा परमाणु केन्द्रहरूमा हमला गर्यो, यद्यपि चीन र रूसले यस्तो आक्रमणले तेस्रो विश्वयुद्ध शुरू गराउन सक्ने चेतावनी दिएका थिए ।
‘डूम्सडे प्लेन’ संकटको समयमा उच्च अधिकारीहरूका लागि उड्ने कमाण्ड पोस्टको रूपमा प्रयोग गरिन्छ जुन परमाणु आक्रमण पनि सहनसक्ने गरी डिजाइन गरिएको छ र सैन्य कार्यहरू समन्वय गर्न सकिन्छ । यो योजना सर्वसाधारण नागरिकहरूको सुरक्षामा केन्द्रित छैन । यसको उद्देश्य भनेको देशको नेताहरूलाई जोगाएर उनीहरूलाई संकटको समयमा राष्ट्र सञ्चालन गर्न सक्षम बनाउनु हो ।
सरकारको यो गोप्य योजना उच्च पदस्थ व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, सञ्चार प्रणालीहरू सुरक्षित गर्ने र अत्यावश्यक दस्तावेजहरू जोगाउने रूपरेखा हो ।
यदि अमेरिका आक्रमणमा पर्यो भने राष्ट्रपति, सेनापतिहरू र अन्य अधिकारीहरूले सुरक्षित स्थानबाट काम जारी राख्न सक्नेछन्, जसले नेतृत्वको अभावबाट उत्पन्न अराजकताबाट जोगाउँछ ।
यस योजनामा स्पष्ट उत्तराधिकारको व्यवस्था छ । यदि राष्ट्रपति, उपराष्ट्रपति वा अन्य शीर्ष अधिकारीहरू मारिए भने अरू व्यक्तिहरूले तुरुन्तै नेतृत्व लिने व्यवस्था मिलाइएको छ । यो सैन्य कमाण्ड सञ्चालन र आपत्कालीन उद्धारहरू समन्वय गर्न अत्यावश्यक हुन्छ ।
संघीय आपत्कालीन व्यवस्थापन संस्था (फेमा) का अनुसार यो योजनाले विभिन्न किसिमका आपत्कालीन अवस्थाहरूमा पनि सरकारी संस्थाका अत्यावश्यक कार्यहरू निरन्तर जारी राख्न सक्ने क्षमता सुनिश्चित गर्छ ।
यो योजना मात्र तेस्रो विश्वयुद्धका लागि होइन, ठूला प्राकृतिक प्रकोप, महामारी वा आतंकवादी आक्रमणजस्ता संकटहरूका लागि पनि बनाइएको हो ।
निरन्तरता योजनाको शुरुआत
यस योजनाको शुरुआत शीतयुद्धका समयमा भएको हो जतिबेला अमेरिका र सोभियत संघबीच परमाणु युद्धको डर हरेक दिनजसो थियो । राष्ट्रपति आइजनहावरले १९५० को दशकमा कार्यकारी आदेशमार्फत यस्तो संकटपछिको शासनप्रणालीका लागि योजना बनाउन संघीय निकायहरूलाई निर्देशन दिएका थिए । अमेरिकी वैज्ञानिक महासंघका अनुसार आइजनहावरको योजनाले परमाणु आक्रमण सहनसक्ने सुरक्षित संरचना र सञ्चार प्रणालीहरूको विकासको शुरुआत गरायो ।
पछिल्ला राष्ट्रपतिहरूले पनि यस योजनालाई थप परिष्कृत गर्दै लगे । जस्तै १९९० को दशकमा जारी गरिएको राष्ट्रपतीय निर्णयको निर्देशिकाले यस्तो योजनालाई औपचारिक बनायो । आजको समयमा यो योजना नेशनल कन्ट्युनिटी पोलिसी डिरेक्टिभ अर्थात् राष्ट्रिय निरन्तरता नीति निर्देशिकाअन्तर्गत सञ्चालन हुन्छ, जसले साइबर आक्रमण वा परमाणु युद्धजस्ता आधुनिक खतरा सम्हाल्न सक्षम बनाउँछ ।
राष्ट्रपतिले भाग्ने तीन गोप्य स्थानहरू
पूर्ण परमाणु युद्धको अवस्थामा राष्ट्रपति र अन्य उच्च अधिकारीहरूले निम्न तीन स्थानहरूमा आश्रय लिनेछन् जुन परमाणु आक्रमण सहनसक्ने गरी बनाइएका छन् । फेमाद्वारा सञ्चालित माउन्ट वेदर इमर्जेन्सी अपरेसन्स सेन्टर भर्जिनिया एउटा हो । नागरिक नेताहरूका लागि बंकर सञ्चार उपकरणसहित आम जनतासँग सम्पर्क कायम राख्ने उद्देश्यले यो बनाइएको हो । त्यस्तै पेन्सिल्भानियामा रहेको रावेन रक माउन्टेन कम्प्लेक्स । रक्षा मन्त्रालयको मुख्य आपत्कालीन सैन्य कमाण्ड केन्द्र हो । अमेरिकी सेनाको रणनीतिक सञ्चालन यहाँबाट हुने गर्छ ।
कोलार्याडोमा रहेको शियेन्ने माउन्टेन कम्पनी अर्को स्थल हो । यो उत्तरी अमेरिकाका एयरोस्पेस डिफेन्स कमाण्डको पूर्व मुख्यालय हो । यसमा भूमिगत सुविधा छ । परमाणु आक्रमणबाट जोगिन सक्ने गरी बनाइएको छ । अहिले पनि वैकल्पिक कमाण्ड सेन्टरका रूपमा तयारी अवस्थामा रहेको छ ।
कागजमा मात्र होइन, व्यवहारमा पनि
हालको संकटसँग यो योजना सक्रिय गरिएको छैन भने पनि इतिहासमा यस्तो योजना प्रयोग भइसकेको छ । २००२ मा कांग्रेस रिसर्च सेवाद्वारा प्रकाशित रिपोर्टअनुसार, ९/११ को आक्रमणपछि यो योजना सक्रिय गरिएको थियो । र ७५ देखि १५० अधिकारीहरू सुरक्षित स्थानहरूमा सारिएका थिए । फेमाको आधिकारिक वेबसाइटले विभिन्न सरकारी निकायका लागि यो योजनाको महत्त्व र कार्यान्वयन निर्देशित गर्छ । यहाँसम्म कि आन्तरिक राजस्व सेवाले समेत आफ्नै यस्तै योजना सार्वजनिक रूपमा प्रस्तुत गरेको छ । यसले देखाउँछ कि यो योजना केवल कागजमा सीमित छैन, वास्तविक संकटका बेला प्रयोगमा आइसकेको पनि छ ।
(डेलीमेलबाट)