काठमाडौं । तयारी चाउचाउ बजारमा आएका नयाँ स्वदेशी तथा विदेशी ब्रान्डसँग चर्को प्रतिस्पर्धा हुँदा चौधरी ग्रूपअन्तर्गतको सिजी फुड्सको आयमा धक्का लागेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जानकारी दिएको छ ।
सिजी फुड्सले वाइवाइ चाउचाउ, क्विक्स चिजबल, पोटेटो चिप्स र जुसलगायत वस्तु उत्पादन गर्दै आएको छ । चाउचाउ बजारमा वाइवाइको अत्यधिक बजार अंश रहँदै आए पनि स्वदेशी तथा विदेशी ब्रान्डले कडा टक्कर दिन थालेको क्रेडिट रेटिङ एजेन्सीको मूल्यांकन छ ।
साथै, उच्च मूल्यको मसलेदार (स्पाइसी) चाउचाउ उपभोग गर्ने उपभोक्ताको बढ्दो चाहनाले पनि सिजी फुड्सको चाउचाउबाट हुने आम्दानीको वृद्धिमा आघात पुगेको इक्रा नेपालको मूल्यांकन छ ।
चालू आर्थिक वर्ष (आव) २०८१/८२ को अर्धवार्षिक अवधिभित्र कम्पनीको आयमा चाउचाउबाट हुने आम्दानीको अंश ७६ प्रतिशत रहेको छ र अधिक आय चाउचाउको विक्रीबाट हुनु चिन्ताको विषय रहेको इक्रा नेपालको भनाइ छ ।
हाल यशोदा फुड्सले उत्पादन गर्ने करेन्ट चाउचाउले स्पाइसी चाउचाउको वर्गमा आफ्नो बजार अंश उच्च बनाउँदै लगेको छ । एशियन थाई फुड्सको टु पीएम चाउचाउ पनि यही वर्गमा प्रतिस्पर्धा गर्दैछ ।
करेन्ट चाउचाउले लिएको बढ्दो बजार हिस्साले वाइवाइको आम्दानीमा असर गरेको इक्रा नेपालका एक उच्च अधिकारीले आर्थिक अभियानलाई बताए ।
कसरी लाग्यो वाइवाइलाई धक्का ?
स्पाइसी चाउचाउको क्षेत्रको बढ्दो प्रतिस्पर्धाको कारण सिजी फुड्सको आय आव २०८०/८१ मा ११ प्रतिशतले घटेको छ भने चालू आव २०८१/८२ को प्रथम ९ महीनामा थप ६ प्रतिशतले घटेको रेटिङ एजेन्सीले जानकारी दिएको छ ।
कम्पनीले आव २०७९/८० मा सञ्चालन आम्दानी ९ अर्ब ११ करोड रुपैयाँभन्दा माथि रहेकोमा त्यसयताका वर्षमा भने कम्पनीको आम्दानी घट्दो प्रवृत्तिमा देखिएको छ । गत आवमा सञ्चालन आय घटेर ८ अर्ब १० करोड रुपैयाँमा सीमित भयो । चालू आवको ९ महीनामा भने सिजी फुड्सको आम्दानी ५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । सिजी फुड्सले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो ।
अर्कोतर्फ करेन्ट चाउचाउको आम्दानी भने निरन्तर बढ्दो रहेको केयर रेटिङले हालै गरको रेटिङ प्रतिवेदनमा उल्लेख छ । आव २०८०/८१ मा यशोदा फुड्स कम्पनीको सञ्चालन आय १८ दशमलव ४५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ पुगेको थियो भने चालू आव २०८१/८२ को पहिलो ८ महीनामै ५ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको छ ।
यी दुई कम्पनीबीच चाउचाउको ट्रेडमार्कको विषयमा कानूनी लडाइँ पनि भएको छ । वाइवाइको प्याकेट जस्तै करेन्टको प्याकेट बनाएको आरोपमा सिजी फुड्सले पाटन उच्च अदालतमा सिजी फुड्सविरुद्ध मुद्दा हालेको थियो ।
स्पाइसी वर्गमा प्रतिस्पर्धा गर्न सिजी फुड्सले पनि चाउचाउ उत्पादन गरेको छ । त्यसको उत्पादन कति बढाउन सकिन्छ हेर्न बाँकी रहेको इक्रा नेपालले बताएको छ ।
नेपालमा विदेशी चाउचाउ आयातमा उच्च भन्सार रहनु नेपाली चाउचाउ उत्पादकको लागि फाइदाजनक रहेको रेटिङ एजेन्सीले बताएको छ ।
सन् २०२३ मा प्राइभेटबाट पब्लिक कम्पनीमा परिणत भएको उक्त कम्पनीले थाइल्यान्डको थाई प्रिजर्भड फुड फ्याक्ट्रीको प्राविधिक सहकार्यमा काठमाडौंमा सन् १९८४ देखि विभिन्न ब्रान्डमा खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।
यो कम्पनीमा ठूलो शेयर अंश निर्वाण चौधरी (७६ प्रतिशत)को नाममा छ । यस्तै एम/एस एपोलो इन्भेन्टमेन्ट प्रालिको नाममा २० प्रतिशत र वरुण चौधरीको नाममा ४ प्रतिशत शेयर रहेको छ । राहुल चौधरीको शून्य दशमलव २ प्रतिशत शेयर रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।