प्रमुख गतिविधि
कम्पनीले मङ्सिर १५ गते सम्पन्न गरेको २४औं वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस शेयर र ९ दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बोनस शेयरपश्चात् कम्पनीको पूँजी २ अर्ब ५१ करोड पुगेको छ ।
कैलाश विकास बैङ्क लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमाससम्म आइपुग्दा खुद ब्याज आम्दानीमा आएको कमीसँगै खुद मुनाफामा पनि २५ प्रतिशत कमी आएको छ । कम्पनी यो त्रैमासमा ९ करोड ७२ लाख खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष उसले १३ करोड १ लाख खुद मुनाफा कमाएको थियो ।
- यो आवमा कम्पनीको चुक्ता पूँजी अघिल्लो आवको सोही त्रैमासको तुलनामा ४५ प्रतिशत वृद्धि भई २ अर्ब २९ करोड भएको छ ।
- जगेडा कोषमा ९ प्रतिशत वृद्धि गर्दै १ अर्ब ८ करोड रुपैयाँ छुट्याएको छ । अघिल्लो आवको सोही अवधिमा बैङ्कको जगेडा कोषमा ९९ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको थियो ।
- निक्षेपमा २१ प्रतिशत वृद्धि गरी १८ अर्ब ६२ करोड रुपैयाँ सङ्कलन गरेको छ । कर्जा १४ प्रतिशत वृद्धि गरी १५ अर्ब ९८ करोड रुपैयाँ भएको छ ।
- खुद ब्याज आम्दानीमा २७ प्रतिशत कमी आएर १५ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ ।
- सञ्चालन मुनाफा ३५ प्रतिशत घटेर ८ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
- जोखीमबापत १ करोड ७५ लाख रुपैयाँ व्यवस्था गरेको छ भने १ करोड ५२ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।
- निष्क्रिय कर्जा थोरै कम भएर शून्य दशमलव ९१ प्रतिशतमा आएको छ । निष्क्रिय कर्जाका लागि १६८ दशमलव ६२ प्रतिशत रकम व्यवस्था गरेको छ ।
- पूँजी कोष लागत ४ दशमलव ७८ प्रतिशतबाट वृद्धि भएर ८ दशमलव ७७ पुगेको छ भने ब्याज स्प्रेड दर ४ दशमलव ७२ प्रतिशत रहेको छ ।
- प्रतिशेयर आम्दानी १६ दशमलव ९७ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशलमव शून्य ८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४७ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात ३२ दशमल ६६ प्रतिशत रहेको छ ।
निष्कर्ष :
स्रोत खुद ब्याज आम्दानीमा आएको कमीले गर्दा बैङ्कको खुद नाफादेखि प्रतिशेयर आम्दानी घट्न पुग्यो । तर पनि कर्जा र निक्षेपमा गरेको वृद्धिलाई सकारात्मक रूपमा हेर्न सकिन्छ ।
प्राविधिक विश्लेषण : थामिन खोज्दै कैलाश विकास बैङ्क
प्रतिरोध २ : २६० । प्रतिरोध १ : २५० । अन्तिम कारोबार मूल्य : २४३ । टेवा १ : २३३ । टेवा २ : २२०
बजारको अवस्था
लामो समयदेखि घट्दो प्रवृत्तिमा रहेको कैलाश विकास बैङ्कको शेयरमूल्य केही हप्तायता भने थामिन खोज्दै केही बढेको छ । ३ हप्ताअगाडि २ सय ३२ रुपैयाँसम्म घटेको यस कम्पनीको शेयरमूल्य हालको अवस्थामा भने २ सय ४३ रुपैयाँको हाराहारीमा रहेको छ । गत बिहीवार कम्पनीको शेयरमूल्य ३ रुपैयाँ अर्थात् १ दशमलव २२ प्रतिशत घटेर २ सय ४३ रुपैयाँमा बन्द भएको छ भने १ हजार ८ सय २३ कित्ता शेयर कारोबार भएको छ ।
मुभिङ एभरेज
६ दिने र २१ दिने मुभिङ एभरेजअनुसार यस कम्पनीको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको छ । यी दुवै मुभिङ एभरेजले एकै कुराको सङ्केत नगरेकाले बजार कुन दिशामा जान्छ भनेर निर्णय गर्न नसकिएको हो ।
एडीएक्स
एडीएक्स सूचकअनुसार कैलाश विकास बैङ्कको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको छ ।
एटीआर
एटीआर सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव कम हुँदै गएको बुझाउँछ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचकअनुसार खरीदकर्ता र विक्रेताको चाप बराबर रहेको सङ्केत गर्छ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले यस कम्पनीको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको बुझाएको हुनाले हालको अवस्थामा ‘पर्ख र हेर’को अवस्था रहेको बुझाउँछ ।