काठमाडौं । ‘ग्लोबल मनी विक’को अवसरमा कृषि विकास बैंकले कोशी प्रदेशमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ ।
विश्व बैंकको आह्वानमा यही मार्च १८ देखि २४ (यही चैत ५ देखि ११ गते)सम्म मनाइएको उक्त सप्ताहमा बैंकले देशभरका सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
सो अवसरमा बैंकले कोशी प्रदेशको हरिनगरा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा भएको उक्त कार्यक्रममा बैंक, विद्युतीय बैंकिङ सेवा, क्यासलेस तथा पेपरलेस कारोवार सेवा, बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा गुरूङले बचतको महत्त्व, खाताबाट कारोवार गर्दा हुने फाइदा, विद्युतीय कारोवार गर्दा अपनाउनुपर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतीय बैंकिङ कारोवार गर्दा अपनाउनुपर्ने सावधानी, क्रिप्टो करेन्सीजस्ता विषयमा जानकारी गराएको बैंकले जनाएको छ ।