काठमाडौं। ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा कुमारी बैंक लिमिटेडले विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । मनी विकको थिम ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ विषयवस्तुलाई आत्मसात् गर्दै बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।
डिजिटल वित्तीय सेवाको बढ्दो प्रयोग, फिनफ्लुन्सरको प्रभाव र आर्टिफिसियल इन्टेलेजेन्स (एआई)को प्रवेशले सर्वसाधारण, विषेशगरी युवालाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ ।
कार्यक्रमअन्तर्गत सहभागीलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिएको बताइएको छ । यस अभियानमार्फत बैंकले युवालाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।