काठमाडौं। एनएमबि बैंकद्वारा अन्तरराष्ट्रिय निकायहरू आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी भएको छ । यस सहकार्यले जलवायु परियोजनामा संलग्न उद्यममा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सृजना हुने लक्ष्य समेत लिइएको छ । त्यसैगरी, यसले देशको ऊर्जा क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकको छ ।
यस वण्डबाट प्राप्त हुने रकम विशेषत: सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन, हरित भवन तथा बायोमास जस्ता परियोजनामा लगानी विस्तार गरिने बताइएको छ । उक्त समझदारीपत्रमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलले यस प्रयासमार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रमा पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्त्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।