लैङ्गिक दृष्टिकोेणमा पुरुष, स्त्री र तेस्रो लिङ्गी गरी ३ प्रकारका मानिस हुन्छन् । कुनै एकले अर्को लिङ्गी व्यक्ति वा समान लिङ्गीलाई गर्ने भेदभाव, घृणा, अपमान, अपहेलना तथा अन्यायजन्य व्यवहार तथा अनुभूति नै लैङ्गिक हिंसा हो । विश्वसमुदायमा जस्तै नेपालमा पनि पुरुषको तुलनामा महिला हिंसा धेरै हुने गर्छ । महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा २०५० ले कुनै पनि व्यक्तिविरुद्ध लिङ्गका आधारमा सार्वजनिक वा निजी जीवनमा हुने हिंसालाई लैङ्गिक हिंसाका रूपमा परिभाषित गरेको छ । लैङ्गिक हिंसालाई शारीरिक, मानसिक र यौनजन्य रूपमा विभाजन गर्न सकिन्छ । नेपालमा घरेलु हिंसा, आर्थिक तथा राजनीतिक रूपमा संविधान तथा कानूनी व्यवस्थाविपरीत लैङ्गिक हिंसा धेरै हुने गरेको छ ।
संविधान तथा कानूनी व्यवस्था
नेपालको संविधान, २०७२ को भाग ३ मा धारा १६ देखि ४६ सम्म नागरिकका लागि आवश्यक पर्ने विभिन्न प्रकारका मौलिक हकको व्यवस्था गरेको छ । राज्यले सबै मौलिक हक कार्यान्वयनका लागि कानूनी व्यवस्था पनि गरिसकेको छ । तसर्थ संविधानप्रदत्त मौलिक हक, अधिकार, कानूनी व्यवस्थाविपरीत आधारभूत मानवअधिकारको उल्लंघन नै हिंसा हो । लैङ्गिक हिंसा भन्नेबित्तिकै महिलाको शारीरिक, मानसिक, यौनिक तथा व्यक्तिगत तथा सार्वजनिक जीवनलाई आघात पुर्याउने तथा प्रभावित गर्ने हिंसालाई बुझिन्छ । लैङ्गिक हिंसा किन र कसरी शुरू भयो ? यसको स्थायी निराकरण कसरी सम्भव छ ? यसका लागि केकस्ता रणनीति कार्यान्वयन गर्नुपर्छ ? कसरी कार्यान्वयन शुरू गर्ने ? यसका चुनौती के हुन् ? सबलता, दुर्बलता के हुन् ?
लैङ्गिक हिंसा कम गर्न, समानता कायम गर्न तथा लैङ्गिक असमानता कम गर्न नेपालमा अहिलेसम्म गरेका विभिन्न कार्य तथा कार्यक्रममध्ये के कुन कार्यक्रमको के कस्तो प्रभाव रह्यो ? मूल्यांकन विश्लेषण गर्न आवश्यक छ । अभियानको नाममा सीमित बजेट खर्च गरेर रमाइलो गर्ने, र्याली, प्ले कार्ड प्रदर्शन तथा क्षणिक रमझम गर्दैमा लक्ष्यमा पुग्न सकिँदैन । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा महिला हिंसाको स्थायी रूपमा निराकरण गर्न भावी दिनमा अपनाउने रणनीति र गरिने क्रियाकलापको स्पष्ट खाकाचित्र तयार हुनुपर्छ ।
हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म गरिने विश्वव्यापी १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानमा यस वर्ष नेपालले लिएको नारा हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धतालाई सफल गराउन सबैैको प्रतिबद्धता र एकता आवश्यक छ । हामी सबै लैङ्गिक हिंसाविरुद्ध प्रतिबद्धताका साथ ऐक्यबद्ध भएर उपयुक्त कार्य गर्यौं भने हामी सदाका लागि हिंसाको अन्त्य गर्न सक्छौं ।
कुनै पनि विषयवस्तुमा विकास गर्ने लक्ष्य राखेर शुुरू गरिएका योजना सफल कार्यान्वयन गर्न तथा अपेक्षाकृत लक्ष्यअनुसार प्रगति गर्न मुख्य बाधक तŒवको पहिचान गरेर त्यसलाई केन्द्रविन्दुमा राखेर मात्रै विकासका लागि रणनीति तर्जुमा र लक्ष्य निर्धारणपश्चात् योजना कार्यान्वयन शुरू गरेमा गन्तव्यमा पुग्न सकिन्छ ।
संविधानले मौलिक हक र राज्यका नीति निर्देशक सिद्धान्तमा व्यवस्था गरेबमोजिम महिला हक, अधिकार सुनिश्चितताको लागि तर्जुमा भएका विद्यमान राज्यको कानून, नीतिनियमहरूको प्रभावकारी कार्यान्वयन गर्न, देशविदेशमा भएका सफल अभ्यासलाई निरन्तरतासँगै दूरदराजकोे दुर्गम बस्तीका झोपडीहरूमा बस्ने विपन्न परिवारका महिलासम्म पुग्ने गरी विस्तार, स्तरोन्नति, वित्तीय सेवामा सहजै पहुँच, उनीहरूको वित्तीय साक्षरता र उद्यमशीलतामा वृद्धि गरी महिलाहरूको आयस्रोत र आम्दानीमा वृद्धि गर्न गराउन सकेमा मात्रै गरीबीलाई कमी ल्याउन सकिन्छ । महिला रोजगारी, स्वरोजगारी, उद्यमशीलतामा वृद्धि, परिवारको अचल सम्पत्तिमा महिलाको पहुँच, साक्षरता वृद्धि गर्न सकेमा गरीबी नियन्त्रण गरी समाजमा महिला समानता र दिगोरूपमा महिला वित्तीय सशक्तीकरण गर्न सम्भव छ । महिला लक्षित वित्तीय सशक्तीकरण गर्न सकेमा स्थायी रूपमा लैङ्गिक हिंसा कम गर्न सकिन्छ ।
महिला वित्तीय सशक्तीकरणको अवस्था
नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या २ दशमलव शून्य ८ प्रतिशत तथा करीब ७ लाखले बढीे छ । पुरुषवादी समाज भएका कारण महिलाहरू सामाजिक, आर्थिक र राजनीतिकलगायत सबै क्षेत्रको विकासका सूचकमा पछाडि परेका छन् । कानून र कागजमा लैङ्गिक समानता केही राम्रो देखिए तापनि व्यवहारमा महिला पुरुषबीचको असमानता धेरै रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका करीब २२ लाख जनामध्ये महिला २० प्रतिशत रहेका छन् । अचल सम्पत्तिमा स्वामित्व हुने महिला २४ प्रतिशत मात्रै छन् । ३१ दशमलव ५ प्रतिशतमात्र महिला घरमूली रहेका छन् । आर्थिक उपार्जन नगर्ने महिला ४२ दशमलव ९ प्रतिशत रहेका छन् भने आर्थिक उपार्जन गर्ने मध्येका ५६ दशमलव ९ प्रतिशत कृषि र २६ दशमलव ९ प्रतिशतले अन्य काममा लागेका छन् । यस्तै ३२ दशमलव ४ प्रतिशत महिला घरधन्दा र ९ दशमलव ८ प्रतिशत महिला पारिवारिक हेरचाहका कारण निष्क्रिय बस्न बाध्य छन् ।
आर्थिक गतिविधिमा नेपाली पुरुषको तुलनामा महिला सहभागिता निकै कम रहेको छ । श्रमबजारमा अझै पनि ज्यालामा भिन्नता रहेको छ । खासगरी तुलनात्मक कम आम्दानी हुने कृषिलगायत क्षेत्रमा महिला सहभागिता बढी रहेको छ । महिला स्वास्थ्य, शिक्षा, नेतृत्वको सूचकांकमा धेरै सुधार हुँदै आए तापनि नेपाली पुरुषको तुलनामा महिलाको स्तर तलै रहेको छ ।
संघीय संसद्मा महिला सहभागिता ३४ प्रतिशत पुगे तापनि स्थानीय तह र नेतृत्वदायी निर्णयमा पुरुष वर्चस्व कायमै रहेको छ । महिलाको नाममा सञ्चालित व्यवसाय तथा प्रतिष्ठानमा वृद्धि भएर एक तिहाइ पुगे तापनि वास्तविक उद्यमी महिला न्यून नै रहेका छन् । निजामती सेवामा महिला सहभागिता २८ प्रतिशत मात्रै रहेको छ ।
दिगो सशक्तीकरणका लागि सबैभन्दा पहिला व्यक्तिको क्षमता वृद्धि, पारिवारिक तथा सामाजिक वातावरणले धेरै हदसम्म प्रभाव पार्छ । नेपाली समाजलाई अझै पनि व्यापक रूपमा रहेको गरीबी, पछौटेपन, अन्धविश्वास, कुरीति र कुसंस्कारका चक्रबाट पूर्णरूपमा मुक्त गराउन आवश्यक छ ।
लैङ्गिक हिंसा
हाम्रो समाजमा सामान्य गृहिणी महिलादेखि सम्मानित ओहदाको जिम्मेवारीमा रहेका सबै महिला हिंसाको शिकार हुनु परेको छ । नेपालमा लैङ्गिक हिंसा निरन्तर वृद्धि हुँदै गएको छ । २०७५ सालमा १५५०० को संख्यामा लैङ्गिक हिंसा दर्ता भएकोमा २०८० मा सो संख्या २१००० पुगेको छ । जसको ८० प्रतिशत घरेलु हिंसा रहेको छ । प्रजनन उमेरका महिला आत्महत्या निरन्तर बढिरहेको छ जसको मुख्य कारणमा लैङ्गिक हिंसा नै रहेको छ ।
कागजमा रहेको कानून लक्षित महिलाको न कानमा परेको छ, न आँखामा परेको छ, न त व्यवहारमा कतैबाट महशुस गर्न नै पाएका छन् । त्यसैले घरघरबाट, टोलटोलबाट महिला सशक्तीकरणको अभियान चलाउन आवश्यक छ । महिला सशक्तीकरणको आवाज राजनीतिक दलले जस्तो नारामा होइन, महिलाको जन्मँदैदेखिको स्याहारसुसार, पालनपोषण, शिक्षादीक्षा, विवाह, सम्पत्तिमाथिको अधिकार र पारिवारिक जीवनशैली तथा व्यवहारमा देखिन आवश्यक छ । जब महिला आर्थिक सशक्तीकरण हुन्छ तब मात्रै कागजमा रहेका संवैधानिक तथा कानूनी व्यवस्था व्यवहारमा आफै आउनेछन् । अरूले टाँसिदिएको सशक्तीकरण दिगो हुँदैन । दिगो सशक्तीकरणका लागि त महिलालाई वित्तीय शिक्षा, व्यावसायिक शीप र साक्षरतामा सक्षम बनाउनुपर्छ । वित्तीय सेवाको सहज पहुँच गराएर महिला उद्यमी नेतृत्वको विकास र विस्तार गर्न सकेमा मात्रै महिला वित्तीय सशक्तीकरण गर्न सकिन्छ ।
लघुवित्त सेवा
लघुवित्त सेवाले विशेष गरी महिला, विपन्न, बेरोजगार भएर केही स्वरोजगार पेशा व्यवसाय सञ्चालन गरी आयआर्जन गरेर स्वरोजगार गर्न सक्ने तुल्याउन पहुँचभन्दा बाहिर रहेका गरीब परिवारका महिलाहरूलाई समूहमा आबद्ध गराएर विनाधितो समूह जमानतमा घरदैलोमै स-सानो कर्जा उपलब्ध गराउँछ ।
सानोसानो अनिवार्य र ऐच्छिक बचत गर्न उत्प्रेरणा गर्छ । समूह सदस्य र उनीहरूको परिवार सदस्य, पशुधन व्यवसायका साथै स्वास्थ्य जोखिमबाट सुरक्षा प्रदान गर्न लघुबीमा सेवाका लागि मध्यस्थताका साथै वैदेशिक रोजगारीमा गएकाले पठाएको आम्दानी घरदैलोसम्म पुर्याउने लगायतका सेवा प्रदान गर्दै आएका छन् ।
महिला तथा विपन्न वर्गको आर्थिक रूपान्तरणको प्रक्रियामा लघुवित्त सेवा तुलनात्मक रूपमा अन्य वित्तीय सेवाभन्दा धेरै प्रभावकारी भएको छ । समूहमा आबद्ध हुन, व्यवसाय सञ्चालन तथा प्रवर्द्धन गर्न, कर्जा लिन, नियमित बचत गर्न र बीमा गराउन सेवा प्रदान गर्नु लघुवित्त सेवाको काम हो । वित्तीय साक्षरता, उद्यमशीलतामा अभिवृद्धि गराउनेलगायत कार्य लघुवित्तको अभिन्न सेवा भएकाले लघुवित्त सेवा औपचारिक बैंकिङ मात्र नभएर विशुद्ध सामाजिक सेवा पनि हो ।
लघुवित्तको योगदान
ग्रामीण विपन्न महिला वर्गलाई लक्षित गरी महिलाहरूको समूह गठन गर्ने, त्यस्तो समूहलाई ७ दिनसम्म अनिवार्य तालिम प्रदान गर्ने, तालिममा वित्तीय तथा व्यावसायिक साक्षरताका कक्षा सञ्चालन तथा व्यावहारिक अभ्यास गराउने गरिन्छ । नियमित बचत गर्न लगाएर बचत गर्न सिकाउने, कर्जा माग गर्ने, सदुपयोग गर्ने, कर्जा साँवाब्याज किस्ताको वारेमा जानकारी गराउने, पदाधिकारी समूह सदस्यको काम, कर्तव्य जिम्मेवारी बुझाउने, समग्रमा लघुवित्त सेवा सम्बन्धमा साक्षर गराएर गाउँघरमा नै बैंकिङ सेवा प्रदान गर्दै आएका छन् । यसबाट घर, गाउँबाट टाढा जान नपाउने, नभ्याउने महिला वर्गले सहज रूपमा बैंकिङ सेवा लिन पाएका छन् । आफ्नो नाममा बचत खाता खोली नियमित रूपमा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यका लागि सोच्न सक्ने भएका छन् । विनाधितो कर्जा लिएर पेशा सञ्चालन गरी स्वरोजगार भएका छन् ।
यसरी परिवारका लागि बचत गर्ने, आफू र परिवार सदस्यका लागि आवश्यक पर्ने कर्जा उपलब्ध गराउने, उक्त कर्जाको साँवाब्याज, किस्ता बुझाउने गर्नाले परिवारको आर्थिक कारोबारको मुख्य वाहक महिलाहरू नै हुन पुगेको पाइन्छ । यसले गर्दा लघुवित्त समूहका महिला सदस्यहरू आम्दानी वृद्धिका लागि सानोतिनो व्यवसाय सञ्चालन गर्न, घरमा पुरुषको अनुपस्थितिमा पूरै परिवारको आर्थिक कारोबार सञ्चालन गर्न सक्षम भएका छन् । यसरी महिलाहरूको आम्दानी वृद्धिसँगै उनीहरू आर्थिक रूपमा सक्षम हुँदै गएका छन् । सम्पत्तिमाथि उनीहरूको स्वामित्व वृद्धि हुँदैै गएको छ । महिलाहरूको नाममा बैंकमा बचत वृद्धि भएको छ ।
लघुवित्त सेवामार्फत महिलाहरूमा वित्तीय साक्षरताको स्तर बढेर गएको छ । आज उनीहरू कसरी आय आर्जन गर्ने, आम्दानी वृद्धि कसरी गर्ने, कसरी बचत गर्ने, आफ्नो बचतको कसरी सुरक्षा गर्ने, कसरी लगानी गर्ने, लगानी गर्न कर्जा कसरी लिने, सदुपयोग गर्नेजस्ता वित्तीय शिक्षाबाट साक्षर भएबाट उनीहरूमा आर्थिक सशक्तीकरण भएको मान्न सकिन्छ । सानो समूह र धेरै समूह भएको केन्द्रको नेतृत्वको अभ्यास गर्ने क्रममा उनीहरू समूह केन्द्र हुँंदै गाउँ, जिल्ला र देशकै कुशल नेतृत्व गर्न सक्षम भएका छन् । यसबाट लघुवित्त सेवाको कारण महिलाहरूको नेतृत्व क्षमतामा वृद्धि गरेको कुरा स्पष्ट हुन जान्छ ।
परिवारमा आम्दानी बढ्नु, परिवारको नेतृत्व महिलाहरूमा हस्तान्तरण हुनुले परिवारमा बालबच्चाको शिक्षा, पालनपोषणमा सुधार आएको छ । समान ज्यालाका लागि महिलाहरू सचेत भएका छन् । महिलाहरू आयआर्जनमा सक्रिय भएर परिवारको आम्दानी बढाउन थालेपछि परिवारभित्र रहेका पुरुषहरूले महिला तथा छोरीप्रति गर्ने व्यवहारमा परिवर्तन आएको छ । महिलाहरूको आयमा परिवर्तनसँगै परिवारमा सुविधाका सामानहरूको उपभोग बढेर गएको छ । महिलाहरूमा आत्मविश्वास बढेर गएको छ । परिवारको आम्दानी बढाउन मैले पनि केही गर्नुपर्छ, स्वनिर्भर हुनुपर्छ, छोरीलाई पनि शिक्षा पूरा गराएर, आत्मनिर्भर बनाएर मात्रै विवाह गरिदिन पर्छ जस्ता चेतनाको अभिवृद्धि भएको छ । परिवारमा आर्थिक निर्णयहरूमा महिलाहरूको सहभागिता बढेर गएको छ । पुरुषहरू महिलाहरूसँग आर्थिक कारोबार गर्नुअगाडि छलफल गर्न थालेका छन् । महिलाहरूले लघुवित्त संस्थाबाट विनाधितो कर्जा ल्याइदिएर बाटो खर्च जोहो गरिदिएर पुरुषहरू वैदेशिक रोजगारमा गएका छन् ।
हिजोसम्म बिहानसाँझ हातमुख जोड्न अप्ठ्यारोमा भएका परिवारहरू आज आर्थिक उन्नति गरेर सुखी जीवन बिताउन थालेका छन् । यसर्थ लघुवित्त सेवाबाट मात्रै सम्भव छ, विपन्न महिलालाई प्रभावकारी वित्तीय सेवा । वित्तीय सेवाको सहज पहुँचबाट नैै विपन्न महिलाहरूको आर्थिक सम्पन्नता प्राप्त हुन्छ । आर्थिक सम्पन्नतापछि मात्रै सम्भव छ महिला नेतृत्व विकास । महिला नेतृत्वबाट हुनेछ महिलासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन । यसबाट लैङ्गिक समानता, दिगो महिला वित्तीय सशक्तीकरण भई लैङ्गिक हिंसाको स्थायी समाधान हुने देखिन्छ ।
महिला उद्यमशीलता
महिला उद्यमशीलता वृद्धि गर्न लघुवित्त सेवाको योगदान अतुलनीय रहेको छ । ग्रामीण विपन्न, धितोविहीन बेरोजगार, पीडित निमुखाका रूपमा रहेका महिलाहरूलाई लघुवित्त संस्थाले समूहमा आबद्ध गरेर निरन्तर रूपमा तालिम, उत्प्रेरणा प्रदान गरेर विनाधितो कर्जा लगानी गरेर महिला उद्यमीको वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
लघुवित्त संस्थाले महिलाहरूलाई विनाधितो कर्जा दिने र सरकारले महिला उद्यमीलाई केही सहुलियत प्रदान गर्ने गर्दा महिला उद्यमीको संख्या वृद्धि भएको देखिए तापनि वास्तविक धरातलमा महिला उद्यमी न्यून छन् । कर्जा र सहुलियतले वृद्धि देखिएको महिला उद्यमी संख्याले समाजमा महिला उद्यमशीलता बढेकै हो भन्न सकिँदैन । महिला उद्यमशीलता वृद्धिका लागि लघुवित्त सेवा सञ्चालनमा प्रभावकारिता ल्याउनुपर्छ । सबै बेरोजगार, गृहिणी महिलाहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउनुपर्छ । उनीहरूलाई वित्तीय र व्यावसायिक साक्षरताको ज्ञान दिनुपर्छ । शीप र उद्यमशीलता विकासको तालिम प्रदान गरी हरेक महिलालाई स्वरोजगार, रोजगार तथा उद्यमी बनाउनुपर्छ । महिला उद्यमशीलता हालको एक तिहाइलाई ५० प्रतिशतभन्दा माथि पुर्याउनुपर्छ । यसरी वित्तीय साक्षरता, व्यावसायिक साक्षरता, शीप विकास र उद्यमशीलताको विकासबाट धेरै उद्यमहरूको विकास हुनेछ । उद्यम व्यवसायबाट भएको उत्पादनको बजार व्यवस्था सरकारले सुनिश्चित गरिदिएमा महिलाहरूको उद्यमशीलताको प्रवर्द्धन हुन्छ ।
समाजका अन्य महिलाको तुलनामा वित्तीय साक्षरताको ज्ञान भएका, वित्तीय सेवाको पहुँचमा रहेका, व्यावसायिक साक्षरताको ज्ञान पाएका महिलाहरू उद्यमी बनेर आयआर्जनमा सक्रिय भएका छन् । उद्यमी र आय आर्जन गर्ने महिलाहरूको जीवनस्तर अन्य महिलाको भन्दा राम्रो हुन्छ । उद्यमी तथा आय आर्जन गर्ने महिलाको स्वामित्वमा अचल सम्पत्ति पनि वृद्धि भएको छ । आर्थिक रूपमा सम्पन्न महिलाहरूको सामाजिक स्तर पनि वृद्धि भएको छ । समाजमा उनीहरूको नेतृत्व उल्लेखनीय भएको छ । आर्थिक अवस्थाको सुधारसँगै सामाजिक तथा राजनीतिक, व्यावसायिक सहभागिता सम्मानजनक रहेको छ ।
यसर्थ उद्यमशीलता वृद्धिबाट मात्रै आर्थिक सम्पन्नता प्राप्त हुन्छ । आर्थिक सम्पन्नताबाट नै महिलाहरूले स्वतन्त्रता र समानता प्राप्त गर्न सक्छन् । यसबाट नै दिगोरूपमा लैङ्गिक हिंसाको अन्त्य सम्भव हुन्छ । १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानका क्रममा नेपालले उठाएको नारा हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता त हाम्रो समाजमा व्याप्त गरीबी, पछौटेपना, अशिक्षा र अज्ञानता हटाउन वित्तीय सशक्तीकरणका लागि उद्यमशिलतालाई अर्जुनदृष्टिका रूपमा राखी अगाडि बढ्न आवश्यक छ । समग्रमा गरीबी निवारण आर्थिक समृद्धिपछि मात्रै मौलिक अधिकार तथा मानव अधिकार पूरा गरेर महिला हिंसा कम गर्न वित्तीय सशक्तीकरण गर्नका लागि लघुवित्त सेवालाई मुख्य सारथिका रूपमा अगाडि ल्याउनुपर्छ ।
(लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा अनुभवप्राप्त अधिवक्ता एवं मेलमिलापकर्ता हुन् ।)