काठमाडौं। लक्ष्मी सन्राइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सवारीसाधन कर्जा तथा आवासीय कर्जाअन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुदृढ बनाउँदै बैंक पार्टनरसीप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिक्याप)सँग २०२१ देखि आबद्ध छ ।
पिक्याप वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाको कर्जा र लगानीका क्षेत्रमार्फत उत्सर्जन हुने ‘ग्रिन हाउस ग्यासेस’को मूल्यांकन र सोको विवरण संकलन तथा सार्वजनिक गर्ने काम गर्दछ । बैंकको सवारीसाधन कर्जा र आवासीय कर्जामार्फत गत आर्थिक वर्षसम्म कुल १५ हजार ९६५ टन बराबर कार्बन डाइअक्साइड उत्सर्जन गरेको देखाइएको छ, जसमध्ये सवारीसाधन कर्जामार्फत ३ हजार ६४४ र आवासीय कर्जामार्फत १२ हजार ३२१ टन बराबर कार्बन डाइअक्साइड उत्सर्जन भएको छ ।