काठमाडौं । विश्व प्रसिद्ध होटल ब्रान्ड मेरिअट बोनभोई अन्तर्गतको ‘अटोग्राफ कलेक्सन’ नेपालकै पाँचतारे होटल सोल्टीमा प्रवेश गरेको छ ।
सोल्टीमा प्रवेश गरी अटोग्राफ कलेक्सनले दक्षिण एशियामा पहिलोपटक आफ्नो उपस्थिति दर्शाएको हो ।
अब ‘सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन,’ नाममा सोल्टी होटल सञ्चालनमा आउने मेरिअटको प्रेस विज्ञप्तिमा उल्लेख छ । अटोग्राफ कलेक्सन नेपालमा छिरेसँगै मेरिअटको १९ ब्रान्डको दक्षिण एशियामा उपस्थिति पुगेको मेरिअटले बताएको छ ।
मेरिअट इन्टरनेशनल दक्षिण एशिया क्षेत्रका क्षेत्रीय उपाध्यक्ष रञ्जु अलेक्सका अनुसार दक्षिण एशियामा अटोग्राफ कलेक्सन होटेल्सको शुरुआत द सोल्टी काठमाडौंसँग गर्नु आफ्ना लागि गौरवको कुरा भएको बताए । ‘यस क्षेत्रका सांस्कृतिक र समृद्ध गन्तव्यहरूमा हाम्रो उपस्थिति विस्तार गर्ने हाम्रो प्रतिबद्धता हो । आफ्नो ऐतिहासिक विरासत र अनौठो पहिचानका कारण, द सोल्टी काठमाडौंको पहिचान हाम्रो दृष्टिकोणसँग पूर्णरूपमा मेल खान्छ,’ उनले भने ।
तर, नेपालमा प्रवेशको प्रकृतिबारे प्रेस विज्ञप्तिमा केही बताइएको छैन ।
केही अघि आर्थिक अभियानसँगको कुराकानीमा सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले मेरिअट बोनभोईको लोयल्टी कार्यक्रमसँग साझेदारी गरेको बताएका थिए ।
‘उनीहरूको लाखौं सदस्य छन् र उनीहरूको प्लेटफर्म प्रयोग गरेर हाम्रो होटल पनि बुकिङ गर्न मिल्छ,’ उनले भनेका थिए ।