काठमाडौं । मकरी गाड हाइड्रोपावरले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले असार १८ गते कम्पनीको कार्यालय महाराजगञ्ज, काठमाडौंमा साँझ ५ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट अधिकृत तथा जारी पूँजी संशोधन भई अभिलेख भए पश्चात् सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।
आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा रुपमा नियुक्त गरेको छ । कम्पनीले दार्चुला जिल्लामा १० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ ।