काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८ दशमलव ३३ प्रतिशतले हुने ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्नेछ ।
गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानीय बासिन्दाहरूले यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागिएको हो । योसँगै कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर सुरक्षित गरेको छ ।
यीबाहेक बाँकी २४ लाख २३ हजार १८५ कित्ता भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
पहिलो चरणमा निष्कासन हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छिटोमा असार २३ गतेसम्म आईपीओ निष्कासन हुने र सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा साउन ६ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने असार २३ गतेसम्म आईपीओ निष्कासन हुनेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत समेत आवेदन दिन सकिनेछ ।
स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गाल्कोट शाखा, प्रभु बैंकको गाल्कोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरीद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
यस कम्पनीले बाग्लुङ जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म उक्त आयोजनाको ९९ दशमलव ५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ छ भने प्रतिमेगावाट अनुमानित लागत २५ करोड रुपैयाँ छ । कम्पनी गत आर्थिक वर्षको अन्त्यसम्म २ लाख ७२ हजारभन्दा बढी सञ्चित नाफामा छ । कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ८१ पैसा छ ।