काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको बिदाइ तथा नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत गरेको छ ।
कार्यक्रममा निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । उनले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वको स्मरण गरे । उनले अर्थतन्त्रको स्थायित्वमा पुर्याएको सकारात्मक योगदानको प्रशंसा समेत गरे ।
उनले महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको बताए ।
त्यसैगरी नवनियुक्त गभर्नर डा. पौडेलले नेपालको बैंकिङ क्षेत्रलाई प्रभावकारी र समग्र अर्थतन्त्रमा स्थायित्वका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । नेपाल राष्ट्र बैंकको वर्तमान नीति र व्यवस्थाको प्रभावकारितालाई हेरेर थप सुधार गरिने धारणा उनले राखे ।
गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने र नेपाली बैंकिङ क्षेत्रलाई थप सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नवनियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका साथै नायब कार्यकारी अधिकृतहरूको उपस्थिति थियो ।