काठमाडौं । नेपालमै पहिलो पटक जारी भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ग्रीन बण्ड जेठ २२ गतेसम्म निष्कासनमा रहने भएको छ । यस अघि छिटो अवधि जेठ २१ गतेसम्म निष्कासन मिति तय गरिएकोमा चार कार्य दिन अवधि कायम गर्न जेठ २२ गतेसम्म निष्कासन गर्न लागेको हो । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाा अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र भने सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणतर्फको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोषका लागि १ लाख कित्ता बाँडफाँट गरी बाकी १९ लाख कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आएको हो ।
सार्वजनिक निष्कासनमा आएको ऋणपत्र खरीदका लागि लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीले हरित उर्जासँग सम्बन्धित परियोजनाहरुमा लगानी बृद्धिका लागि आवश्यक रकम जुटाउन यो ऋणपत्र जारी गर्न लागेको जानकारी दिएको छ । यस ऋणपत्र बाट प्राप्त रकम शौर्य उर्जा उत्पादन तथा २५ मेवाटा सम्म क्षमता जडित रन अफ रिभर जलविद्युत परियोजना विकास गर्नका लागि प्रयोग गर्ने भनाई कम्पनीको छ । कम्पनीले तयार गरको ग्रीन बण्ड फ्रेमवर्क को अधिनमा रही तोकिएका क्षेत्रहरुमा कर्जा प्रवाह नहुँदासम्म अल्पकालिन तरल सम्पत्तिमा मात्र लगानी गर्ने तयारी कम्पनीको छ । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जानकारी समेत कम्पनीले दिएको छ । ग्रीन बण्ड पहिलो पटक जारी हुन लागेको र यसले ऋणपत्रको बजारमा विविधिकरण कायम गर्ने विश्वास सरोकारवालाहरुको छ ।