काठमाडौं । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा हुन लागेको पाँचौं ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । उद्यमशीलतामा सक्रिय भएर लागेका महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न र उनीहरूले यो क्षेत्रमा दिएको योगदानको कदर गर्ने उद्देश्यले न्यू बिजनेश एजले सन् २०२१ देखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।
यस वर्षको कार्यक्रम वैशाख २४ गते बुधवार (मे ७) काठमाडौंमा हुँदै छ । आयोजक संस्थाका अनुसार यसमा सम्मानित हुने अधिकांश उद्यमीको छनोट एक स्वतन्त्र निर्णायकमण्डलले गरिसकेको छ । थप उद्यमीको छनोट केही दिनभित्रै सम्पन्न हुने गरी काम भइरहेको छ । यस क्रममा उद्यममा सक्रिय रहेका देशभरका २ हजारभन्दा बढी महिलामध्येबाट विभिन्न मापदण्ड तयार गरेर विभिन्न चरणमा सर्टलिस्टिङ गरिएको थियो ।
सम्मान कार्यक्रम अघि ‘व्यवसायमा महिलाको भूमिकालाई पुनर्परिभाषित गर्ने (रिडिफाइनिङ वुमन्स् रोल इन बिजनेश)’ भन्ने मुख्य थिममा केन्द्रित रहेर विज्ञहरूबाट प्यानेल छलफलसमेत गरिनेछ ।
यस वर्षको कार्यक्रमको प्रमुख प्रायोजक प्रभु बैंक रहेको छ ।
आयोजकका अनुसार यो वर्ष पनि विभिन्न ६ विधामा करीब १५ महिला उद्यमीलाई सम्मान गरिनेछ । यसमा सातओटै प्रदेशबाट एक/एक जना महिला उद्यमीलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन’का रूपमा सम्मान गरिनेछ । उनीहरूलाई जनही रू. ५१ हजार नगद पुरस्कार पनि दिइनेछ ।
आयोजक संस्थाका अनुसार अन्य विधामा प्रविधिमा महिला (वुमन इन टेक), व्यवसायी महिला (प्रोफेशनल वुमन), युवा महिला व्यवसायी (युथ वुमन आन्त्रप्रेनर), लाइफटाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट महिला उद्यमी (बेस्ट वुमन आन्त्रप्रेनर) लगायत रहेका छन् ।
लाइफटाइम एचिभमेन्ट अवार्डबाट लामो समयदेखि योगदान दिइरहेका व्यवसायी महिलामध्ये एकजना महिला उद्यमीलाई सम्मान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । उक्त समिट तथा अवार्ड कार्यक्रमको ‘ड्रिभन बाई’ पार्टनर टाटाको कर्भ ईभी रहेको छ भने लाइफ इन्स्योरेन्स पार्टनरमा नेशनल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल लिमिटेड) रहेका छन् ।
अन्य सहयोगी संस्थामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सिटिजन लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, मुक्तिनाथ विकास बैंक, एभरेस्ट बैंक, एनएलजी इन्स्योरेन्स, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सीताराम गोकुल मिल्क, कृषि विकास बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सिटी एक्सप्रेस मनी ट्रान्सफर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेका छन् ।