काठमाडौं। भारतको आसाम राज्यको गुवाहटीमा आयोजित ‘समावेशी विकासका लागि उत्तर पूर्वी भारतमा अन्तरदेशीय आर्थिक कोरिडोर’ गोलमेच सम्मेलनमा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को सक्रिय सहभागिता रहेको छ । सम्मेलनमा निक्कीका उपाध्यक्ष तथा एशियन इन्ष्टिच्युट अफ इकोनोमिक डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सका संस्थापक सुनिल केसी सहभागी थिए । सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष केसीले दक्षिणपूर्वी एसियाको प्रवेशद्वारको रूपमा उत्तर पूर्वी भारतको भूराजनीतिक महत्त्वलाई जोड दिँदै यस क्षेत्रमा शान्ति, स्थिरता र पारस्परिक समृद्धिका लागि आर्थिक सम्बन्ध बढाउनुपर्ने धारणा राखे ।
अन्तरदेशीय आर्थिक कोरिडोरका सम्भावित फाइदा दुवै मुलुकले लिनुपर्ने उनले बताए । व्यापार बढाउन, रोजगारी सृजना गर्न, पूर्वाधार विकासलाई उत्प्रेरित गर्न र समावेशी विकासका लागि यस क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो । बलियो पूर्वाधार, सहज व्यापार प्रवाह र प्रभावकारी नीतिगत समन्वयले उक्त लाभ हासिल गर्न सकिने उनले बताए ।
विशेषगरी सीमान्तकृत समुदाय, वातावरणीय दिगोपन र जिम्मेवार विकास अभ्यासमा ध्यान केन्द्रित गर्दै सामाजिक आर्थिक विकास र समावेशी वृद्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा उपाध्यक्ष केसीले जोड दिए । ‘उत्तर पूर्वी भारतमा अन्तरदेशीय आर्थिक कोरिडोर स्थापना गर्ने कार्य सफल भए यस क्षेत्रका सबै सरोकारवालालाई फाइदा पुग्छ,’ उनले भने, ‘जीवन्त र दिगो आर्थिक कोरिडोरको परिकल्पना साकार पार्न सरकार, निजीक्षेत्रका संस्था, नागरिक समाजका संगठन र अन्तरराष्ट्रिय साझेदार लगायत सरोकारवालाबीच सहकार्यको खाँचो छ ।’