सरकारी नीतिले गरेको प्रोत्साहन र महिलाहरूमा बढ्दो आत्मविश्वासका कारण नेपालमा महिला उद्यमीको संख्या र तिनले सञ्चालन गरेका उद्योगको आकार बढ्दो रहेको पाइएको छ । न्यू बिजनेश एजले आयोजना गरेको पाँचौं न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५ कार्यक्रममा विजयी महिला उद्यमीहरूको उद्यमको आकार र गुणस्तर हेर्दा विगतमा भन्दा निकै सुधार आएको देखिएको हो । पहिला स्तरीय व्यवसाय पाउन नै गाह्रो हुने गरेकामा अहिलेको संस्करणमा धेरैजनालाई रोजगारी दिएका महिला उद्यमी पाइयो भने उच्च व्यवस्थापन तहमा पनि महिलाको उपस्थिति बढ्दै गरेको पाइयो । यसले नेपालमा महिला उद्यमीको उपस्थिति र आकार बढेको पुष्टि हुन्छ । तर, यो पर्याप्त देखिँदैन ।
विश्व बैंकको एक प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा कम आय भएका मुलुकमा १२ दशमलव ५ प्रतिशत फर्ममा महिला उच्च व्यवस्थापनमा रहेको पाइन्छ । त्यस्तै न्यून मध्यम आय भएका मुलुकमा यस्तो अंश १९ दशमलव २ प्रतिशत रहेको छ । उच्च मध्यम आय भएका मुलुकमा यो २० दशमलव १ प्रतिशत रहेको छ भने उच्च आय भएका मुलुकमा १७ प्रतिशत रहेको छ । लिन्क्डइनको इकोनोमिक ग्राफ पेपर प्रतिवेदनअनुसार विश्वमा महिला श्रमको अंश ४१ प्रतिशत रहेको छ जसमध्ये ३२ प्रतिशत उच्च व्यवस्थापनमा संलग्न छन् । यी तथ्यांक हेर्दा नेपालमा पनि मूलप्रवाहमा महिलाको उपस्थिति निकै सकारात्मक देखिन्छ । नेपालमा बैंकिङ क्षेत्रमा ४२ प्रतिशत महिला कर्मचारी रहेको अन्तरराष्ट्रिय वित्त निगमले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । यो भनेको दक्षिण एशियाली मुलुकमा सबैभन्दा उच्च हो ।
- अर्थतन्त्रको दिगो र सन्तुलित विकासका लागि उद्यम व्यवसायमा महिलाको अंश बढ्दै जानुपर्छ ।
- महिलालाई समय व्यवस्थापनमा निकै समस्या पाइन्छ ।
- बिस्तारै निर्णायक भूमिकामा पनि महिलाको उपस्थिति बढ्दै छ ।
त्यसो त नेपालमा राजनीतिक क्षेत्रमा महिलाको उपस्थिति निकै बढेको छ । बिस्तारै निर्णायक भूमिकामा पनि महिलाको उपस्थिति बढ्दै छ । यसको एउटा मुख्य कारण भनेको महिलालाई राज्यले गरेको सकारात्मक विभेदको परिणति हो भन्ने देखिन्छ । यसका लागि संविधान र कानूनमै निश्चित प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । उद्यमका क्षेत्रमा पनि राज्यले महिलालाई सहयोग गर्न विभिन्न नीति लिएको छ । आर्थिक पहुँच नबढाई महिला सशक्तीकरण हुन सक्दैन भनेर नै राज्यले महिलाका पक्षमा धेरै सकारात्मक कदम चालेको हो । महिला उद्यमी कोष, महिलाका लागि सहुलियत कर्जाजस्ता व्यवस्था गरिएको छ । त्यसैगरी विभिन्न समितिहरू गठन गर्दा महिला प्रतिनिधि अनिवार्य गरिएको छ । महिलालाई उद्यममा सघाउन प्रत्येक जिल्लामा महिला अधिकारीहरूको व्यवस्थासमेत गरिएको छ । त्यसैको परिणति यसमा सुधार आएको हो भन्न सकिन्छ ।
न्यू बिजनेश एजले पनि महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विविध विधा र प्रदेशका महिलालाई विभिन्न शीर्षकमा पुरस्कार दिएर हरेक वर्ष वुमन समिट एन्ड अवार्डस् कार्यक्रम गर्दै आएको छ । यस्तो कार्यक्रमले पनि महिला उद्यामशीलतामा सघाउने देखिन्छ ।
त्यसो त महिला उद्यमीका लागि निकै चुनौती छन् । पहिलो त पुरुषजस्तो फुक्काफाल भएर महिलाले पूर्ण रूपमा व्यवसायमा समय दिन सक्दैनन् । घरव्यवहारका लागि पनि समय दिनुपर्ने हुन्छ । त्यसैले महिलालाई समय व्यवस्थापनमा निकै समस्या पाइन्छ । त्यस्तै कर्जामा अझै पर्याप्त पहुँच छैन । नेपालमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन जग्गा धितो चाहिन्छ र त्यसमा महिलाको स्वामित्व कम छ । जग्गा विक्रीमा सरकारले महिलाका लागि पूँजीगत लाभकर कम लाग्ने व्यवस्था गरिदिएको छ जसका कारण जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । यसले पनि महिला उद्यमशीलता बढाउन सहयोग गरेको देखिन्छ ।
उद्यम व्यवसायमा महिलाको संलग्नताको प्रवृत्ति फेरिन थालेको छ । साना र घरेलु उद्यममा महिलाको संख्या बढी हुने गरेकामा अहिले धेरैजनालाई रोजगार दिने ठूलो कम्पनी सञ्चालन गर्न थालेका छन् । उच्च तहमा महिलाको उपस्थिति पनि बढेको छ । अर्थतन्त्रको दिगो र सन्तुलित विकासका लागि उद्यम व्यवसायमा महिलाको अंश बढ्दै जानुपर्छ जुन नेपालमा सकारात्मक देखिन्छ ।