मनिला (फिलिपिन्स) । फिलिपिन्समा हिरासतबाटै चुनाव लडेका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे मेयरमा निर्वाचित भएका छन् ।
मध्यावधि निर्वाचनअन्तर्गत सोमवार सम्पन्न मतदानको पछिल्लो मतपरिणामअनुसार उनी दाभाओ शहरको मेयरमा निर्वाचित भएको समाचार संस्था बीबीसीले जनाएको छ । उक्त शहरलाई डुटेर्टे परिवारको गढ मानिन्छ ।
उनी गत मार्चदेखि अन्तरराष्ट्रिय फौजदारी अदालतको हिरासतमा छन् । उनीमाथि राष्ट्रपतिको कार्यकालमा अवैध लागुऔषध विरुद्धको लडाइँमा मानवता विरुद्धको अपराध गरेको आरोप लागेको छ ।
फिलिपिन्समा हिरासतमा रहेका व्यक्ति पनि चुनाव लड्न पाउने व्यवस्था छ । तर, दोषी प्रमाणित भएमा स्वतः पद जान्छ ।
फिलिपिन्समा सोमवार १८ हजार पदका लागि मतदान भएको थियो, जसमा माथिल्लो सदन (सिनेट)का २४ सिट, तल्लो सदन (प्रतिनिधिसभा)का ३१६ मध्ये २५३ सिट र प्रान्त र शहरका विभिन्न पदहरू समावेश छन् । एजेन्सीको सहयोगमा