काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज–एक्सटेन्डेड क्रसओभर गाडी ‘आईटीओ एम८’ चीनमा सार्वजनिक हुनुअघि नै १ लाख अर्डर भएको जानकारी दिइएकोे छ ।
यसको प्रि–सेल मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन सम्मको रेन्जमा रहेको बताइएको छ । अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गराइनेछ ।
आईटीओ ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र विक्रीको काम सम्हालिरहेको बताइएको छ ।
आईटीओ ब्रान्डका गाडीहरू हुवावेको ‘हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी अलाइन्स’ स्टोरमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेको बताइएको छ ।
आईटीओ ब्रान्डअन्तर्गत अहिले आइटीओ एम५, एम७ र एम९ गरी तीनओटा क्रसओभर गाडी उपलब्ध रहेका छन् । चीन ईभी डेटा ट्र्याकरका अनुसार यी मोडेलको कुल विक्री २०२४ मा ३ लाख ८५ हजार ९०४ युनिट पुगेको थियो ।