काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कतारी शाही परिवारबाट उपहारका रूपमा बोइङ ७४७–८ विमान स्वीकार गर्ने योजना बनाएको खबर छ । यस विषयसँग जानकार स्रोतका अनुसार उक्त विमान एयर फोर्स वानका रूपमा प्रयोग हुनेछ । एयर फोर्स वान अमेरिकी राष्ट्रपति चढ्ने विमान हो । यो विलासी विमान अमेरिकी सरकारले प्राप्त गरेको सबैभन्दा मूल्यवान उपहारमध्ये एक हुने बताइएको छ । ट्रम्पले पद छोडेपछि उक्त विमान उनको राष्ट्रपतीय पुस्तकालयलाई दान गरिने स्रोतको भनाइ छ । नयाँ व्यावसायिक ७४७–८ को मूल्य लगभग ४०० मिलियन अमेरिकी डलर (५४ अर्ब ४० करोड रुपैयाँ) पर्छ ।
आइतवार राति आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसलको एक पोस्टमा ट्रम्पले विमान उपहार दिने कतारको प्रस्ताव अनुमोदन गरे जस्तो देखिएको छ । ‘त्यसैले रक्षा विभागले ४० वर्ष पुरानो एयर फोर्स वानलाई अस्थायी रूपमा प्रतिस्थापन गर्न ७४७ विमान निःशुल्क उपहारका रूपमा पाउँदै छ, एकदम सार्वजनिक र पारदर्शी लेनदेनमा, जसले भ्रष्ट डेमोक्र्याटहरूलाई यति धेरै चिन्तित बनाउँछ कि उनीहरूले विमानका लागि अधिकतम मूल्य तिर्नुपर्छ भनी जोड दिन्छन्,’ ट्रम्पले लेखेका छन् ।
डेमोक्र्याट र असल शासनका पक्षधरहरूले कतारले यस्तो उपहार दिनु अनैतिक र सम्भवतः असंवैधानिक भएको बताएका छन् । ‘कतारले तिमीलाई ल्याइदिएको एयर फोर्स वान जस्तो अमेरिका फस्ट अरू केही छैन,’ सिनेट डेमोक्रेटिक नेता चक सुमरले एक्समा लेखेका छन्, ‘यो घूसखोरी मात्र होइन, अतिरिक्त लेगरुमसहितको प्रिमियम विदेशी प्रभाव हो ।’
- आइतवार राति आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसलको एक पोस्टमा ट्रम्पले विमान उपहार दिने कतारको प्रस्ताव अनुमोदन गरे जस्तो देखिएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले एक विज्ञप्तिमा भनेकी छन्, ‘कुनै पनि विदेशी सरकारले दिएको उपहार सधैं सबै प्रचलित कानूनको पूर्ण पालना गरी स्वीकार गरिन्छ । राष्ट्रपति ट्रम्पको प्रशासन पूर्ण पारदर्शिताका लागि प्रतिबद्ध छ ।’
कतार सरकारका प्रवक्ता अली अल–अन्सारीले एक विज्ञप्तिमा एयर फोर्स वानका रूपमा अस्थायी प्रयोग हुने विमानको सम्भावित हस्तान्तरण कतारको रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभागबीच अझै विचाराधीन रहेको र यस विषयमा निर्णय हुन बाँकी रहेको उल्लेख गरेका छन् ।
यो उपहार योजनासम्बन्धी समाचार एबीसी न्यूजले आइतवार पहिलोपटक बाहिर ल्याएको थियो । एयर फोर्स वानका रूपमा प्रयोग गर्न अद्यावधिक गरिएको नयाँ ७४७–८ विमान हस्तान्तरणमा भएको ढिलाइप्रति ट्रम्पले निराशा व्यक्त गरेका छन् । पहिलो कार्यकालमा ट्रम्पले सन् २०२४ मा जेटहरू डेलिभर गर्न बोइङसँग सम्झौता गरेका थिए । अमेरिकी वायुसेनाका एक अधिकारीले गत हप्ता कंग्रेसलाई बोइङले सन् २०२७ सम्ममा विमानहरू पूरा गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए ।
ट्रम्पले गत फेब्रुअरीमा फ्लोरिडामा उनको मार–ए–लागो रिसोर्ट नजिकैको पाम बीच अन्तरराष्ट्रिय विमानस्थलमा पार्क गरिएको कतारी स्वामित्वको ७४७–८ को अवलोकन गरेका थिए । त्यस बेला ह्वाइट हाउसले राष्ट्रपतिले अद्यावधिक गरिएको एयर फोर्स वान विमान कसरी कन्फिगर गरिनेछ भन्ने विषयमा राम्रो जानकारी प्राप्त गर्न त्यसको अवलोकन गरेको बताएको थियो ।
वाशिङटनमा रहेको असल शासन संगठन, सिटिजन्स फर रेस्पोन्सिबिलिटी एन्ड एथिक्सका प्रवक्ताले एक विज्ञप्तिमार्फत यो उपहार ग्रहणले कंग्रेसको स्वीकृतिविना अमेरिकी अधिकारीहरूले विदेशी सरकारबाट उपहार स्वीकार गर्न संविधानले लगाएको प्रतिबन्ध उल्लंघन गर्छ कि गर्दैन भनी प्रश्न उठाएका छन् ।
‘यो पक्कै पनि राष्ट्रपतिको व्यक्तिगत व्यापारिक कारोबार रहेको एक विदेशी मुलुकले आफ्ना राष्ट्रप्रमुखसँग भेट्नुअघि उनलाई ४०० मिलियन डलरको उपहार दिए जस्तो देखिन्छ,’ प्रवक्ता जोर्डन लिबोविट्जले भने ।
ट्रम्प यसै साता मध्यपूर्व भ्रमणका क्रममा कतार पुग्ने कार्यक्रम छ । ट्रम्प कतारमा भएका बेला उक्त विमान हस्तान्तरण वा स्वीकार गर्ने कार्यक्रम नरहेको प्राप्त समाचारमा उल्लेख छ ।
एबीसीले स्रोतलाई उद्धृत गरेको रिपोर्टमा ह्वाइट हाउस काउन्सिलको कार्यालय र न्याय विभागका वकिलहरूले रक्षा विभागले उपहारका रूपमा विमान स्वीकार गरी पछि ट्रम्पको राष्ट्रपतीय पुस्तकालयलाई हस्तान्तरण गर्नु कानूनी र संवैधानिक हुने निष्कर्ष निकालेर विश्लेषण तयार गरेको उल्लेख छ । एजेन्सी