काठमाडौं । प्रिन्टिङ मेसिन खरीद गर्दा भ्रष्टाचार गरेको कसुरमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको आइतवारको इजलासले पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सीईओ अकबर हुसेन पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेषले अख्तियारको दाबीबमोजिम प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको हो । यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसला भएको छ ।
विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनबाट जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसलामा उल्लेख छ ।
अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले भनेको छ ।
पौडेलविरुद्ध दुई कसुरमा गरी दुई वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महीना पनि कैद सजाय सुनाएको छ ।
सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरीदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो वर्षको ३० वैशाखमा मुद्दा दायर गरेको थियो ।
अन्य प्रतिवादीहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापालाई सफाइ दिइएको छ । अदालतका अनुसार प्रतिवादीहरूलाई कार्यकारी निर्देशक प्रतिवादी निकस पौडेलको निर्देशानुसार खरीद प्रक्रियामा संलग्न गराएको देखिए तापनि उनीहरूको निर्णायक भूमिका नदेखिएको, खरीद प्रक्रियामा आफ्नो पदीय दायित्व बमोजिमको कार्यसम्म गरेको संक्षिप्त फैसलामा उल्लेख छ ।