सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको नेपालका मन्त्रालय, विभाग तथा अन्य निकायका अधिकांश प्रवक्ताको सम्पर्क सूचीमा ‘ई–मेल ठेगाना’ समावेश गरिएको छैन । मन्त्रालयले तयार गरेको ६५ जना प्रवक्ता तथा सहप्रवक्ताको सूचीमध्ये पाँचजनाको मात्रै ‘ई–मेल’ ठेगाना राखिएको छ । ‘ई– मेल’ को प्रयोग गरी प्रवक्तासँग सम्पर्क राख्न चाहने जोकोहीलाई पनि समस्या परेको सरोकारवालाहरू बताउँछन् । ‘प्रवक्ताहरूकै ई–मेल ठेगाना प्राप्त नहुँदा सूचना लिनका लागि कि त फोन नै गर्नुपर्ने हुन्छ, कि त मन्त्रालयमै धाउनुपर्ने हुन्छ,’ सूचनाप्रविधि विषयमा समाचार लेख्दै आएका एक पत्रकार भन्छन्, ‘यसले हाम्रा सरकारी प्रवक्ता प्रविधिमैत्री छैनन् भन्ने दर्शाउँछ ।’
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको प्रेस तथा सूचना समन्वय शाखाले उक्त सम्पर्क सूची तयार गर्छ । अधिकांश मन्त्रालय, विभाग वा अन्य निकायले प्रवक्ताको सम्पर्क ठेगाना पठाउँदा ‘ई–मेल ठेगाना’ समावेश नगर्ने गरेकाले सो सूचीमा राख्न नसकिएको उक्त शाखाका एक अधिकारीले बताए । नाम नबताउने शर्तमा उनले भने, ‘प्रवक्ताहरूको ई–मेल ठेगाना नहुँदा हरेक सोमवार मन्त्रालयमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा बोलाउनसमेत फोन नै गर्नुपर्ने बाध्यता छ ।’ उक्त सम्पर्क सूचीमा सूचना तथा सञ्चार मन्त्रालय र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता तथा सहप्रवक्ताकै ‘ई–मेल’ ठेगाना छैन ।
वर्ष ८, अंक १९४, सोमवार १८ चैत, २०६९