काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसँगै अन्य विविध प्रस्ताव पारितका लागि शनिवार (भोलि) विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित्व हुन पाउने गरी कम्पनीले बिहान ११ बजे विशेष साधारण सभा गर्न लागेको हो ।
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै त्यसको अख्तियारी दिने सम्बन्धमा समेत सभाले निर्णय गर्नेछ । नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा समेत सभामा छलफल हुनेछ । आईपीओ निष्कासनको खर्च जुटाउन कम्पनीले यसअघि संस्थापक शेयरधनीबाट चुक्ता हुन बाँकी रकम उक्त शेयर विक्री गरेर जुटाएको छ ।