आर्थिक वृद्धिका लागि मुख्य रूपमा सडक, ऊर्जा र कृषिको विकास हुनुपर्छ । सडक सञ्जाल, ऊर्जा र कृषिको विकास नगरी आर्थिक वृद्धि हासिल गर्छु भन्नु मूर्खताबाहेक केही होइन । अहिले पनि नेपालका दुर्गम क्षेत्रमा सडक पुगेको छैन । सडक विस्तार हुन नसक्दा स्थानीय उत्पादन शहर तथा विदेशमा पुर्याउन सकिएको छैन । स्वदेशको कुनाकन्दरामा रहेका अमूल्य वस्तु विदेशमा निर्यात गर्न पनि यातायातको सहज पहुँच हुनुपर्छ । यातायातको अभावले स्याउ, बहुमूल्य जडीबुटीलगायतका वस्तु निर्यात गर्न सकिएको छैन । विदेशी मुद्रा आर्जन गर्न निर्यात बढाउनुपर्ने हुन्छ ।
सरकारले १० वर्षमा १० हजार र २० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न पनि आगामी ५ वर्षभित्रमा ४ हजार मेगावाटका विद्युत् आयोजनाहरू निर्माण हुनु जरुरी देखिन्छ । केही समयपहिला देशको समृद्धि प्रतिव्यक्ति आम्दानीका आधारमा मापन गर्ने चलन थियो । तर, हाल त्यस्तो सोचाइमा परिवर्तन आएको छ । अहिले कुन मुलुकका मानिसले कति विद्युत् खपत गर्छन्, त्यसका आधारमा आर्थिक स्तर मापन गर्न थालिएको छ । नेपालमा प्रतिव्यक्ति विद्युत् उपभोग १ सय किलोवाट प्रतिघण्टा भन्दा कम खपत हुने गरेको छ । यो अन्य देशको तुलनामा ज्यादै कम हो ।
(इप्पानका अध्यक्ष डा. सुवर्णदास श्रेष्ठसँगको कुराकानीबाट)
वर्ष ८, अंक १९४, सोमवार १८ चैत, २०६९