काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यको स्वास्थ्य बीमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो । बिहीवार एक कार्यक्रमबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत आश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका थिए । पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको बताइएको छ ।
पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यको क्षमता अभिवृद्धिबाहेक सुरक्षाका लागि समेत संस्था गम्भीर रहेको बताए । स्वास्थ्य बीमा कार्यक्रम त्यसकै प्रयास भएको उनको भनाइ छ ।
‘हामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धि लगायत काम गर्दै आएका छौं, जुन सधैँ कायमै रहन्छ,’ उनले भने, ‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अहिले हामीले आफ्नै कोषबाट सबै सदस्यको बीमा गरेका छौं ।’
सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सीईओ शाहले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बीमा गर्न पाउनु निकै खुशीको विषय भएको बताए । उनले सबै नेपाली बीमामा जोडिन आवश्यक रहेको समेत बताए । बीमाको महत्त्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहको भनाइ छ । आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बीमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।