विराटनगर । विराटनगर–मेची भन्सारबाट जाँचपास भएर बिहिबार भारतको पश्चिमबंगाल राज्यको पानीटंकी भन्सार कार्यालयले नेपाली चिया बोकेर भारत भित्रन लागेका १७ ओटा ट्रकलाई शतप्रतिशत ल्याब परिक्षणको प्रावधान अनिवार्य पुरागर्नुपर्ने नियम लागु भएकाले परिक्षण रिर्पोट नआएसम्मका लागि भारत भित्रन रोकेको छ । यस अघि केही महीनामा ५ देखी २० प्रतिशत मात्र चियाको परिक्षण गराउदा निकासी भइरहेको थियो ।
नेपालमा अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त ल्याब नभएको कारण मेची भन्सारबाट चिया लगायतका कृषि उत्पादन निकासी गर्न भारतको कोलकोतामा रहेको ल्याबमा परिक्षण गराएरमात्र निकासी गर्नुपर्ने ब्याध्यता रहेको छ । नेपाल टि प्लान्टर एशोसिएशनका अध्यक्ष तथा चिया उद्योगी उदय चापागाईले नेपालसंग अन्तराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला नहुदा भारतले सधैं नेपाली चिया निकासीमा बखेडा श्रृजना गरिरहन्छ । चापागाईका अनुसार तीन बर्ष अघि पनि यसरी नै भारतको टि काउन्सिलले नेपाली चियाको गुणस्तर जाँचपासपछि मात्र प्रवेश दिने बताएपछि एक साता नेपाली चिया निकासी अवरुद्ध भएको थियो ।
मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार विहिबार देखी नेपालबाट जाँचपास भएर गएका नेपाली चिया बोकेका ट्रकहरूलाई भारतीय नाका पानीटंकीबाट छिर्न दिइएन भन्ने खबर आएको हो । नेपालको तर्फबाट किन ट्रकहरू रोकीएर भनेर भारतीय भन्सार समकक्षी समक्ष बुझ्दा अहिले भारतीय भन्सारमा ल्याब परिक्षणको रिपोर्ट समेत राखेपछि मात्र जाँचपास हुने सिस्टम लागु भएको जानकारी आएको छ । तत्काल शतप्रतिशत चियाको ल्याब परिक्षण सम्भव नहुने भएकाले त्यसलाई सहजिकरण गरेर नेपाली चियाका ट्रकलाई भारत प्रवेश सहज बनाउनका लागि आफू लगायत आफ्नो टिमले छलफल गरिेहेको रेग्मीले जानकारी दिए ।
बार्षिक रुपमा नेपालबाट तीन अर्ब बराबरको चिया भारत निकासी हुदै आएको छ । निकासी नहुदा नेपालका चिया उत्पादक किसान, चिया सहकारी र नेपाली चिया व्यवसायी प्रभावित हुने छन । नेपालबाट उत्पादित ८० प्रतिशत चिया भारतीय ब्यापारीले नै किनेर लाने गर्छन । उनीहरूले केही स्थानिय बजारमा केही तेश्रो मुलुकमा विभिन्न ब्राण्डमा विक्री गर्ने गर्छन । अन्य २० प्रतिशत चिया भने नेपालबाट चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलिया, रसिया र खाडी मुलुक निर्यात भइरहेको छ ।