काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच भएको वार्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता भएको गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । यातायात व्यवसायीले पनि वार्ताका लागि ९ सदस्यीय टोली गठन गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न ९ सदस्यीय समिति गठन गरिएको र वार्ता भएको जानकारी दिए ।
गृहमन्त्री रमेश लेखकसहित वार्ता टोलीले ९ सदस्यीय यातायात व्यवसायीको वार्ता टोलीसँग वार्ता गरेको थियो । गृह मन्त्रालयका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीसहित, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव पन्तको संयोजकत्वमा वार्ता भएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरकारका ३/४ वटा मन्त्रालयका प्रतिनिधिसमेत यातायात व्यवसायीको टोलीसँग थप वार्ता गर्ने जनाइएको छ ।
गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाएका छैनन् । यसबाट विहानदेखि जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन् । यात्रुहरू यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बसेका थिए ।
१५ जना पक्राउ
यसैबीच आज यातायात बन्द गराउने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । उपत्यकामा प्रहरीले दुईओटा बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उनले बताए ।
यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई प्रहरीले ‘स्कर्टिङ’ गरेर गन्तव्यतर्फ पठाइरहेको जनाएको छ ।