काठमाडौँ । संसद्मा प्रतिपक्षी दलहरूको अवरोध अन्त्य गर्ने सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको प्रमुख ३ दलका शीर्ष नेताहरूको बैठकमा कुनै सहमति नभएपछि विना निष्कर्ष टुंगिएको छ।
बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने प्रतिपक्षीहरूको अडान यथावत राखेको जानकारी दिए। संसद्को अवरोध हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा करिब २ घण्टा भएको छलफलपछि उनले गृहमन्त्री लेखकको राजीनामाभन्दा पनि संसद् बैठक खोल्न सत्तापक्षले आग्रह गरेको बताए।
उनले भने, 'हामीले राखेको विषयवस्तु यथावत रहेको छ, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ।’ छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठक सञ्चालन गरेर अघि बढ्न आग्रह गरेको प्रमुख सचेतक पाण्डेले बताए ।
छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरुङ, संसदीय दलका नेता हितराज पाण्डे र महेन्द्र राय यादव‚ गृहमन्त्री रमेश लेखकसहित कांग्रेसबाट पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए।