काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले चैत मसान्तसम्ममा रू. २ करोड ११ लाख नाफा कमाएको छ । यो नाफा फागुन मसान्तको तुलनामा भने ४७ प्रतिशत कम हो ।
फण्डले फागुन मसान्तसम्ममा रू. ३ करोड ९४ लाख नाफा कमाएको थियो । चैतमा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ४ करोड ९२ लाख रहेकोमा चैत मसान्तमा रू. ३ करोड २२ लाखमा सीमित भएको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ७५ पैसा रहेकोमा चैत मसान्तमा १० रुपैयाँ ५१ पैसामा सीमित भएको हो ।
त्यस्तै फण्डले सूचीकृत धितोपत्रको लगानी भने फागुनको तुलनामा चैतमा केही बढाएको छ । फागुन मसान्तमा फण्डको सूचीकृत धितोपत्रमा लगानी रू. ४४ करोड ७० लाख रहेकोमा चैत मसान्तमा बढाएर रू. ४५ करोड ८८ लाख पुर्याएको छ ।