काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि कडा आलोचना गरेका छन् । उनले वर्तमान सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र बिचौलियाको नियन्त्रणमा चलेको आरोप लगाएका छन् ।
‘मैले यसअघि पनि सरकारलाई खबरदारी गरेको थिएँ,’ अध्यक्ष प्रचण्डले भने, ‘सरकार जनताप्रति गैरजिम्मेवार देखिन्छ, तर स्वार्थ समूह र बिचौलियाप्रति खुलेर समर्पित छ।’
उनले भुइँमान्छेको घरमा बिजुली काट्नु निन्दनीय रहेको बताए । ‘उद्योगीका अर्बौं बक्यौता उठाउन खोजिँदैन, तर गरीबको लाइन काटिन्छ । यस्तो विसंगति जनआक्रोशको कारण बनेको छ,’ अध्यक्ष प्रचण्डले भने ।
सरकारको कार्यशैलीले लोकतन्त्र नै संकटमा पारिएको उल्लेख गर्दै उनले भने, ‘सरकारको असंवेदनशीलता र स्वेच्छाचारिताले प्रतिगामी शक्तिहरूलाई पुनः शिर उठाउने मौका दिएको छ।’
उनले चेतावनीस्वरूप भने, ‘हिजो सामाजिक सञ्जालमा सीमित आक्रोश भोलि सडकमा पोखिन सक्छ।’
१० महीनाको कार्यकालमा सरकारले कुनै पनि दृष्टिले सुध्रिएको प्रमाण नदेखिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको गठन नै सीमित वर्गको स्वार्थका लागि भएको दाबी गरे । ‘जब सत्ता संयन्त्रकै सदस्यहरूले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच भएको भनी सार्वजनिक रूपमा बोल्न थाल्छन्, त्यो शासनको गम्भीर नैतिक पतन हो,’ उनले भने ।