काठमाडौं । आधा दर्जनभन्दा बढी ब्रोकर कम्पनीले आफ्नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग गर्न थालेका छन् । यो लगानीकर्ता, ब्रोकर र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई जोड्ने सफ्टवेयर प्रणाली हो । यसले लगानीकर्तालाई अनलाइन माध्यमबाट धितोपत्र किनबेच गर्ने सुविधा दिन्छ ।
अधिकांश ब्रोकरले नेप्सेले उपलब्ध गराएको टीएमस प्रयोग गरिरहेका बेला सातओटाले आफ्नै प्रयोग गर्न थालेका हुन् । हाल ९२ ओटा सूचीकृत ब्रोकर कम्पनी छन् ।
२०७५ साल कात्तिक २० गतेदेखि धितोपत्र दोस्रो बजारमा लागू भएको अनलाइन कारोबार प्रणालीमा टीएमएस जोडिएको हो ।
- धितोपत्र कारोबारमा संलग्न सूचीकृत ब्रोकर कम्पनीको संख्या ९२
- २०७५ कात्तिक २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा लागू भएको अनलाइन कारोबार प्रणालीमा टीएमएस
- नेप्सेको टीएमएस शुल्क मासिक २५ हजार, आफ्नै टीएमएस हुनेले पनि मासिक १० हजार रुपैयाँ बुझाउनुपर्ने
नेप्सेले ब्रोकरहरूले चाहेमा आफ्नै टीएमएस प्रयोग गर्न सक्ने गरी शुरूका दिनमा कामचलाउ रूपमा टीएमएस उपलब्ध गराएको थियो । वाइको कम्पनीले बनाएको टीएमएस नेप्सेले मासिक २५ हजार रुपैयाँ शुल्क लिई ब्रोकर कम्पनीलाई उपलब्ध गराउँदै आएकोमा पछिल्लो समय ब्रोकरहरूले नेप्सेले उपलब्ध गराउँदै आएको टीएमएसको विकल्प खोजेका हुन् ।
ब्रोकरहरुले आफ्नै टीएमएस प्रयोग गरेकोमा नेप्सेको कुनै गुनासो छैन । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले शुरुआती दिनमा काम चलाउन नेप्सेले सिस्टम बनाई ब्रोकरहरूलाई उपलब्ध गराए पनि आफ्नै टीएमएस प्रयोग गर्न सक्ने विकल्प दिएको जानकारी दिए । नेप्सेले मासिक २५ हजार रुपैयाँमै टीएमएस उपलब्ध गराएको जानकारी दिँदै पराजुलीले अब सिस्टम प्रयोग नगर्ने ब्रोकरले पनि मासिक १० हजार रुपैयाँ नेप्सेलाई शुल्क बुझाउनुपर्ने बताए ।
ब्रोकरहरूले आफ्नो सुविधा र लागतका आधारमा टीएमएस छनोट गर्न सक्ने पराजुलीको भनाइ छ । आफ्नै टीएमएस प्रयोग गरेका सात ब्रोकर कम्पनीमध्ये नासा सेक्युरिटिजले प्रयोग गरेको टीएमएस भारतीय कम्पनी डिओन ग्लोबल सोलुसनले बनाएको हो । अरू ६ ब्रोकर कम्पनीले प्रयोग गरेको टीएमएस श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको हो । नेपालमा डिजी हब कम्पनीले उक्त टीएमएस ब्रोकरहरूमा उपलब्ध गराइरहेको छ ।
आफ्नै टीएमएस प्रयोग गर्ने ब्रोकरहरूः
- ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिज
- ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटिज
- ब्रोकर नम्बर ४४ डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज
- ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटिज
- ब्रोकर नम्बर १४ नेपाल स्टक हाउस
- ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज
- ब्रोकर नम्बर ७५ एनआइएमबी स्टक मार्केट्स लिमिटेड
डिजी हबका प्रोजेक्ट म्यानेजर राजन घिमिरेले अझै थप सात ब्रोकर कम्पनीले आफ्नो टीएमएस प्रणाली प्रयोग गर्न लागेको जानकारी दिए । उनका अनुसार ब्रोकर नम्बर ३ अरुण सेक्युरिटिज, ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिज, ब्रोकर नम्बर ५३ इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल, ब्रोकर नम्बर ४० क्रियटिभ सेक्युरिटिज, ब्रोकर नम्बर ४१ लिन्च स्टक मार्केट, ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज र ब्रोकर नम्बर ८ आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज डिजी हबले उपलब्ध गराउने टीएमएस प्रयोग गर्ने लाममा छन् ।
नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध भएकाले पनि ब्रोकरहरू त्यसमा आकर्षित भएको घिमिरे बताउँछन् । ‘हाम्रो सिस्टम प्रयोग गर्ने ब्रोकरहरूबाट राम्रो प्रतिक्रिया आएको छ,’ उनी भन्छन्, ‘विशेष गरी मोबाइल एपप्रति लगानीकर्ताको आकर्षण बढिरहेको ब्रोकरहरूको प्रतिक्रिया छ ।’ नयाँ टीएमएसमार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन र दिन बाँकी रकमको हिसाबकिताब सहज रुपमा हेर्न पाउने भएकाले पनि लगानीकर्ताको मागका आधारमा ब्रोकरहरु नयाँ टीएमएसप्रति आकर्षित भएको बुझाइ घिमिरेको छ ।
नयाँ प्रणाली पूर्ण अटोमेसन रहेको दावी गर्दै घिमिरेले यसमा आफ्ना सदस्यहरूको रेकर्ड ब्रोकरको हातमा मात्र हुने बताए । ‘नयाँ सिस्टममा चार्ट तथा ग्राफहरू एकीकरण गरिएको छ जुन पुरानोमा थिएन,’ घिमिरेले भने ।
डिजी हबले उपलब्ध गराउने नयाँ टीएमएस अन्य मुलुकमा डेढ दशकभन्दा बढी समयदेखि प्रयोगमा रहेको र समय क्रममा यसमा नयाँ नयाँ फिचर थपिँदै आएको प्रोजेक्ट म्यानेजर घिमिरेले जानकारी दिए ।