काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका प्रमुख चार शहरमा ब्याट्री स्टोरेज प्रणाली निर्माणको तयारी गरेको छ । ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगन्जमा १०० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्रणाली निर्माणको तयारी भइरहेको प्राधिकरणले बताएको छ ।
विद्युत् आपूर्तिको अफ–पिक आवरमा बिजुली भण्डारण गर्ने र पिक आवरमा आपूर्ति गर्न ब्याट्री स्टोरेज प्रणाली निर्माण गर्न लागिएको हो । आयोजना विकास गर्न प्राधिकरणले विभिन्न दातृ निकायसँग ऋण खोजिरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनका अनुसार ऋण उपलब्ध भएमा जति सक्दो चाँडो निर्माण कार्य शुरू गरिनेछ । एउटा ब्याट्री स्टोरेज निर्माण गर्न ७ देखि १० अर्ब रुपैयाँसम्म लगानी लाग्ने अध्ययनले देखाएको उनले बताए । ‘शुरुआतमा यी चार स्थानमा निर्माण गर्ने र प्रणालीले राम्रोसँग काम गर्यो भने क्षमता बढाउने योजना हो । अन्य ठाउँमा पनि विस्तार गर्न सकिन्छ,’ उनले भने । कार्यकारी निर्देशक शाक्यका अनुसार चीनमा यस्तै आयोजना निर्माण गर्न ६/७ अर्ब रुपैयाँ लाग्ने गरेको छ भने भारतमा यही क्षमताको आयोजना निर्माण गर्न १० अर्ब रुपैयाँ जति खर्च हुने गरेको छ । ‘हाम्रोमा पनि यसैको वरिपरि खर्च हुने अनुमान गरिएको छ,’ शाक्यले भने ।
देशका अधिकांश जलविद्युत् परियोजना नदीको बहावमा आधारित छन् र तिनीहरूको उत्पादन चौबीसै घण्टा स्थिर रहन्छ । दिन र साँझमा बिजुलीको माग उत्पादनका तुलनामा उच्च हुन्छ । त्यसलै पिक आवरको मागलाई सम्बोधन गर्न प्राधिकरणले यस्तो योजना बनाएको हो ।
के हो ब्याट्री स्टोरेज ?
दिउँसोको समयमा घामबाट सोलार चार्ज गरेर ब्याट्रीमा पावर स्टोरेज गर्ने र बेलुकाको पिक आवरमा त्यही स्टोरेज गरेर राखेको ऊर्जा बिजुली बाल्न प्रयोग गर्ने नै ब्याट्री स्टोरज प्रणाली हो ।
साथै कुनै बेला आपत्कालीन अवस्थामा लोडशेडिङ गर्नुपरेमा पनि ब्याट्री स्टोरज प्रयोग गर्न सकिन्छ । यसमा सयौं मेगावाटसम्म बिजुली स्टोर गर्न सकिन्छ । धेरै बिजुली उत्पादन भएको समयमा भण्डार गरेर पिक आवरमा यसको उपयोग गरिन्छ ।