काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ भने आयोजना प्रभावित स्थानीयमा २ लाख ६ हजार ७६० कित्ता आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याएको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याइएको थियो ।
स्थानीयमा वितरण हुन नसकेको शेयर समेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ ।
छिटो अवधि साउन २२ गतेभित्रै मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले विक्री बन्द गर्न लागेको हो । साउन २१ गते साँझ ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि १० लाख ५० हजार १९६ जनाले आवेदन दिएका छन् । यी आवेदकहरूबाट १ करोड १९ लाख ६५ हजार १२० कित्ता आईपीओ खरीद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ, यो मागभन्दा ६ दशमलव १३ गुणा बढी हो ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म शेयर माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले दैलेखमा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ छ । प्रतिमेगावाट अनुमानित लागत भने २३ करोड ६८ लाख ४ हजार रुपैयाँ छ ।