काठमाडौं । यो साताको कारोबारलाई हेर्दा धितोपत्र दोस्रो बजार सुधारिन लागेको अनुमान लगाउन सकिन्छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता नेप्से परिसूचक शून्य दशमलव ३१ प्रतिशत अर्थात् ६ दशमलव २१ अंक मात्र घटेको छ ।
गत साताको अन्तिम कारोबार दिन १ हजार ९७२ दशमलव १४ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन १ हजार ९६५ दशमलव ९३ विन्दुमा बन्द भएको हो । यो साता नेप्से परिसूचक १ हजार ९९२ विन्दुमाथि पुगेर फर्किएको हो ।
यो साता चार कारोबार दिनमा बजार एक दिन स्थिर रहेको थियो । पहिलो कारोबार दिन १२ दशमलव २९ अंक बढेको बजार दोस्रो दिन १५ दशमलव ४१ अंक घटेको हो भने तेस्रो दिन शून्य दशमलव १५ अंकको स्थिर अवस्थामा बजार बन्द भएको थियो । चौथो अर्थात् अन्तिम कारोबार दिन बजार ३ दशमलव २४ अंकले घटेर बन्द भएको थियो ।
यो साताको बजारको उतारचढावलाई हेर्दा आगामी दिनमा सम्हालिएर सकारात्मक गति लिन सक्ने अनुमान लगानीकर्ताले गरेका छन् । ब्रोकर कमिसन घटाउने बोर्डको प्रस्ताव अर्थमन्त्रालयले स्वीकृत गरिसकेको समाचार बाहिरिएसँगै लगानीकर्ता केही उत्साहित बनेको देखिन्छ ।
लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउन माग गर्दै आएका थिए । लगानीकर्ताको मागबमोजिम नेपाल धितोपत्र बोर्डले हालको कमिसनमा १० प्रतिशत घटाएर कार्यान्वयनका लागि अर्थमन्त्रालयसमक्ष स्वीकृति मागेको थियो । अर्थमन्त्रालयले स्वीकृत गरी कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन बोर्डलाई पत्रचार गरिसकेको बोर्डका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
यो साता चार कारोबार दिनमा ९ अर्ब २२ करोड १६ लाख रुपैयाँभन्दा बढीको २ करोड ५६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता पनि चार कारोबार दिन मात्र खुलेको बजारमा १० अर्ब ५ करोड ७९ लाख रुपैयाँभन्दा बढीको २ करोड ५८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । ‘
गत साताको तुलनामा यो साता कारोबार रकम ८३ करोड ६३ लाख रुपैयाँभन्दा कम भएको छ भने कारोबार कित्ता पनि घटेको छ । गत साताको तुलनामा यो साता औसत कारोबार रकम २० करोड ९० लाख रुपैयाँ र कारोबार कित्ता ४७ हजारभन्दा बढीले घटेको छ ।
यो साता औसतमा २ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको ६४ लाख ११ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साता १५ अर्बभन्दा बढीले कुल बजार पूँजीकरण घटेकोमा यो साता ९ अर्ब ८४ करोड रूपैयाँभन्दा बढीले पूँजीकरण घटेको छ ।
गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब २७ अर्ब ७ करोड ५८ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३१ खर्ब १७ अर्ब २२ करोड ६२ लाख रुपैयाँ कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए
यो साता सामान्य अंकले घटेको बजारबाट वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । गत साताको तुलनामा यो साता वित्त समूहको परिसूचक ३ दशमलव ९७ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७७ प्रतिशत परिसूचक बढेको गत साता निर्जीवन बीमा समूहको शून्य दशमलव १६ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ ।
यो साता बैंकिङ समूहका लगानीकर्ताले भने सर्वाधिक गुमाएको परिसूचक घटेको आधारमा अनुमान लगाउन सकिन्छ । यो साता बैंकिङ समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ९६ प्रतिशत घटेको छ । त्यस्तै होटल तथा पर्यटनको शून्य दशमलव ९० प्रतिशत, लघुवित्तको शून्य दशमलव ५९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४४ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३६ प्रतिशत, लगानीको शून्य दशमलव ३१ प्रतिशत, व्यापारिकको शून्य दशमलव २६ प्रतिशत, विकास बैंकको शून्य दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।