काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय साँखुले वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरूका लागि ६ दिने जीवन उपयोगी शीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको छ ।
संस्थाले काठमाडौंको साँखुमा ३० जना र जोरपाटीमा ३० जना गरी ६० जना ग्राहक सदस्यहरूलाई तालिम दिएको हो ।
ग्राहक सदस्यलाई उद्यमशील बनाई उनीहरूको आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा सहभागीहरूलाई संचार गर्ने प्रभावकारी उपायहरू, निर्णय लिन सक्ने क्षमताको विकास, समय तथा तनाव व्यवस्थापन, व्यवसायलाई व्यवस्थित तरिकाले अगाडि लैजान अपनाउनुपर्ने रणनीति जस्ता विषयहरूमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न तालिमका सहभागीहरूलाई आग्रह गरिन् ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य मञ्जु पुडासैनीले लघुवित्तले गरिबी समाजमा सामूहिक दायित्वका आधारमा बिना धितो कर्जा प्रवाह गरेका कारण महिलाहरूको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठूलो मद्दत गरेको बताइन् ।
केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक गोविन्द चापागाईले तालिम लिएकाहरूले आफूले सिकेको शीप प्रभावकारीरूपमा व्यवहारमा उतारेमा पुनः अन्य तालिमहरू पनि सञ्चालन गर्ने बताए ।