काठमाडौं । ट्रेड टावर लिमिटेडले थप सर्वसाधारणमा आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरी बाँकी शेयर थप सर्वसाधारणमा निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो भने यसबाहेक ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ भने थप सर्वसाधारणमा निष्कासन गरिएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन भएको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ ।
छिटोमा जेठ १९ गतेसम्म निष्कासनमा रहने यो आईपीओ सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ २८ गतेसम्म निष्कासन लम्बिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था छ ।