काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को व्यवस्थापन संकायले इन्भायरोन्मेन्टल, सोसल एन्ड गभर्नेन्स (इएसजी)का सिद्धान्तमा केन्द्रित ‘पोस्ट ग्य्राजुएट डिप्लोमा इन सस्टेनेबल बिजनेश म्यानेजमेन्ट’ पाठ्यक्रम शुरू गर्ने भएको छ । यसका त्रिवि व्यवस्थापन संकायले मे २९ मा स्पेनको युनिभर्सिट्याट पोम्पेउ फाब्रा–बार्सिलोना स्कूल अफ म्यानेजमेन्टसँग भच्र्युअल रूपमा समझदारी गरेको छ । यसैगरी उक्त कार्यक्रम शुरू गर्न प्राविधिक सहयोगका लागि मंगलवार इन्भेस्ट फर इम्प्याक्ट नेपालसँग समझदारी गरेको छ ।
‘पोस्ट ग्य्राजुएट डिप्लोमा इन सस्टेनेबल बिजनेश म्यानेजमेन्ट’ कार्यक्रमको उद्देश्य देशमा उद्यमशीलता र व्यवसायको प्रवर्द्धनलाई एक तह माथि पुर्याउनु रहेको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा. डिल्लीराज शर्माले बताए । ‘कार्यक्रमले नेपाली व्यवसाय र जनशक्तिलाई समुदाय, राष्ट्रिय अर्थतन्त्र र अन्तरराष्ट्रिय स्तरमा समेत पुर्याउन र दिगो व्यवसाय सञ्चालनमा मद्दत पुर्याउनेछ,’ उनले भने, ‘बहुआयामिक महत्त्वको यो कार्यक्रमले दिगो विकासका लागि आर्थिक, वातावरणीय, सामाजिक र सु–शासनका विषयलाई समेट्नेछ ।’
वर्तमान विश्वपरिदृश्यमा इएसजिका सिद्धान्तहरूको समावेशीकरण अनिवार्य बन्दै गएको शर्माले बताए । इएसजिका मानकहरूको पालना दीर्घकालीन सफलता र सामाजिक प्रगतिका लागि आवश्यक रहेकोमा विश्वविद्यालमा सञ्चालन हुने उक्त कार्यक्रमले यसमा केही हदसम्म टेवा पुर्याउने अपेक्षा उनले गरे ।
‘जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालमा इएसजि सिद्धान्तको पालना अझ बढी महत्त्वपूर्ण छ । निजीक्षेत्र र विशेषगरी वित्तीय क्षेत्र यसको पालनामा पहिलेदेखि नै अग्रसर छन् । तथापि, स्थानीय तहको क्षमतामा ठूलो अन्तर रहेकाले इएसजि व्यवस्थापनका जटिलतालाई सम्बोधन गर्न सक्षम तथा दक्ष विशेषज्ञको माग बढिरहेको छ,’ विश्वविद्यालयको व्यवस्थापन संकायद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ । यो परिप्रेक्ष्यमा त्रिवि व्यवस्थापन संकाय विषयगत दक्ष नेतृत्वको विकास गर्न, सकारात्मक परिवर्तन ल्याउन, दिगो कार्यविधि प्रवर्द्धन गर्न र इएसजिका मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न आवश्यक ज्ञान तथा शीप प्रदान गर्न प्रयासरत रहेको बताइएको छ ।