आइतवार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक एकै दिन दोहोरो अंक (१२ दशमलव ५५ अंक) ले घटेर ५ सय ८ दशमलव २६ बिन्दुमा आइपुगेको छ । राजनीतिक दलहरूबीच बढिरहेको असमझदारी र त्यससँगै सत्तारूढ दलबाट आएको सबै सम्झौता भंग गर्ने चेतावनीको मनोवैज्ञानिक असर परेको सरोकारवालाहरूले बताएका छन् । शेयर विश्लेषक तथा लगानीकर्ता निरञ्जनकुमार टिबरेवालाले भने, ‘दलहरूबीचको तनाव उत्कर्षमा पुगेको आभासले लगानीकर्ता डराएका देखिन्छन्, । शान्ति सम्झौतालगायतका कुराले शेयरबजारमा असर परेको छ र केही लगानीकर्ता डराएका छन् तर सबै विक्षिप्त भएका भने छैनन् ।’ उनले धेरै लगानीकर्ता बेच्ने मनस्थितिमा नरहेको बताए ।
अहिले पनि धेरै लगानीकर्ता अत्यावश्यक भएको खण्डमा मात्र शेयर विक्री गर्न तयार भएको उनले बताए । यसअघि राजनीतिक तरंगको असर पनि नेप्से परिसूचकमा देखिने गरेको भए पनि लगानीकर्ताहरूले घटेको बजारको फाइदा उठाउने उनीहरू बताउँछन् । उनी अहिले अल्पकालीन लगानीकर्ताहरू डराए पनि दीर्घकालीन भने डराउनु नपर्ने बताउँछन् ।
वर्ष ८, अंक १२४, सोमवार, ८ माघ, २०६९