नेपाल सस्तो पर्यटकीय गन्तव्यको चिनारीबाट बिस्तारै खर्चालु पर्यटकका लागि पनि चिनारी बनाउने बाटोमा अघि लागेको देखिन्छ । नेपालमा पर्यटनले बामे सर्न लागेको बेलामा उच्च वर्गका पर्यटक नेपाल आउँथे तर समयक्रममा यो क्रम कम हुँदै जान थाल्यो र झोले पर्यटकको संख्या बढ्न थाल्यो । अन्तरराष्ट्रिय चेन होटलहरूको आगमनस“गै नेपालमा गुणस्तरीय पर्यटकको आगमन बढ्न थालेको देखिन्छ । त्यही भएर यस क्षेत्रमा लगानी पनि बढिरहेको छ । नेपालमा उच्च मूल्यका पर्यटक भित्र्याउन टाइगर टप्सको भूमिका निकै थियो । नेपालका पर्यटन नै विदेशी व्यवस्थापनबाट शुरू भएको हो । त्यसैले उच्च खर्चालु पर्यटक नेपाल भित्रिन्थे ।
टाइगर टप्स बन्द भएसँगै यस्ता खाले पर्यटक अफ्रिकी मुलुकतिर जान थाले । तैपनि हिमाल आरोहण, चरा अवलोकन, पदयात्राजस्ता क्षेत्रमा उच्च मूल्यका पर्यटकको आगमन भइरहेको छ । खासगरी विश्वभरिका पर्यटनसम्बन्धी समाचार र जानकारी दिने पत्रपत्रिकाले नेपाललाई उत्कृष्ट गन्तव्यमा छुटाउने गरेका छैनन् । त्यही भएर नेपाल धेरैका लागि स्वप्न गन्तव्य बनेको छ । यस्तोमा पाँचतारे होटेलहरूको संख्या बढ्नु, दुसित थानी, शिन्तामणि, अलफ्ट, हिल्टन, म्यारियटजस्ता होटेल नेपालमा आउनु भनेको महँगा पर्यटक आउने सम्भावनाको ढोका खुल्नु हो । यस्ता होटेल भित्रिने क्रम जारी छ । नेपालीहरूले पनि होटेलहरूमा लगानी बढाएका छन् । मेघौलीमा महँगा होटेल खुल्नुले यस क्षेत्रको पर्यटनको रिब्रान्डिङ हुन सम्भव छ ।
यद्यपि आरक्षभित्र होटेल खोल्न नदिनु गलत नीति थियो कि भन्ने देखाउँछ । टाइगर टप्सले न वातवरणीय क्षति पुर्याएको थियो न त संरक्षित जनावरलाई हानिनोक्सानी नै । प्रकृतिलाई संरक्षणमात्र गर्ने तर त्यसबाट आर्थिक लाभ नलिने हो भने यस्तो संरक्षणको अर्थ हुँदैन । त्यसैले टाइगर टप्सजस्ता आतिथ्य सेवालाई स्वागत गर्नुपर्छ ।
नेपालमा गुणस्तरीय पर्यटकभन्दा पनि संख्यालाई बढी महत्त्व दिने गरिएको छ । भुटानले जस्तो सस्तो पर्यटकलाई रोक्न नेपालमा सम्भव छैन किनभने सबै खाले पर्यटकलाई लक्षित गरी विभिन्न खाले होटेल खुलेका छन् । त्यसअनुसार सेवा प्रवाह गरेका छन् । यी सबैलाई व्यवसाय पुर्याउन पनि सबै खाले पर्यटक बढ्नु आवश्यक छ । तर, कुन क्षेत्र कस्ता पर्यटकका लागि खुला गर्ने, कति शुल्क लिने भन्नेमा चाहिँ सरकारले वर्गीकरण गर्नुपर्ने हुन्छ । त्यसमा लागि एउटा निश्चित मापदण्ड बनाउनेतर्फ लाग्नु उपयुक्त हुन्छ ।
पहिला सगरमाथा आरोहण गर्न खासै नियन्त्रण थिएन । अहिले सरकारले नेपालकै त्योभन्दा कम उचाइका हिमाल नचढी सगरमाथा चढ्न नपाउने नियम बनाएको छ । यसले सगरमाथामा भइरहेको भीडभाडबाट सृजित नकारात्मक सन्देशलाई रोक्न सक्छ । साथै पटकपटक नेपाल आउने पर्यटकको संख्या पनि यसले बढाउँछ । त्यस्तै केही पर्यटकीय स्थल सबैखाले पर्यटकका लागि खुला नगरी उच्च मूल्यका पर्यटक, त्यो पनि सीमित संख्यामा मात्रै जान पाउने व्यवस्था गर्नु उपयुक्त हुन्छ । उदाहरणका लागि रारामा जाने पर्यटकको संख्या तोक्न सकिन्छ र त्यसको सौन्दर्य जोगाउन सकिन्छ । त्यस्तै उच्च हिमाली संस्कृति र सौन्दर्य हेर्न आउने पर्यटकका लागि पनि यस्तै नियमन गर्न सकिन्छ । नेपालमा होटेलमा राम्रो लगानी भए पनि अन्य पूर्वाधारको अवस्था राम्रो छैन । त्यही भएर वर्षेनि नेशनल जियोग्राफिक च्यानलले अर्बपतिहरूलाई नेपाल ल्याए पनि तिनलाई एकरातभन्दा बढी नेपालमा रोक्न सकिएको छैन । त्यस्ता पर्यटकलाई नेपालमा केही दिन रोक्न सक्ने गरी पूर्वाधारमा लगानी गर्नु आवश्यक छ ।
सरकारले आगामी दशकका लागि पर्यटन नीति बनाउने तयारी गरिरहेको समाचार आएको छ । त्यसका लागि उसले उच्च मूल्यका पर्यटक र कम खर्चालु वा सस्ता पर्यटकका लागि अलगअलग प्रडक्टको व्यवस्था हुने गरी नीति लिनु आवश्यक छ । ध्यान, प्रकृति र स्थानीय संस्कृतिजस्ता कुराले नेपालमा लक्जरी पर्यटनको सम्भावना उच्च छ र यसतर्फ लगानी पनि बढिरहेको छ । यस्तोमा ती पर्यटकलाई सन्तुष्ट पार्न सक्ने गरी नीति बनाइनु जरुरी छ ।