काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेको छ । वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले उच्च सतर्कता अपनाइएको छ ।
अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि पानिको सहत बढेपछि सुरक्षा निकायले सतर्क भएर बसेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने , 'बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।'
उनले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिनुभयो । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए ।
'यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन्,'उनले भने । वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
तस्वीर सबै : सुनिल शर्मा/आर्थिक अभियान