जियाओफेङ वान, जो पहिले अमेरस्ट कलेजमा भर्ना अधिकारी थिए, अहिले संयुक्त राज्य अमेरिका आउन चाहने अन्तरराष्ट्रिय विद्यार्थीहरूलाई परामर्श दिने निजी सल्लाहकारका रूपमा काम गर्छन् । यस साता जब उनी चीनमा सम्भावित विद्यार्थीहरूसँग भेटघाट गर्दै थिए, उनले उनीहरूको अभिभावकमाझ गहिरो अन्योल महसूस गरे ।
‘उनीहरू साँच्चै नै अनिश्चित छन् कि आफ्ना बच्चाहरूलाई त्यस्तो देशमा पठाउने कि नपठाउने, जसले चिनियाँ विद्यार्थीलाई स्वागत गर्दैन वा चीनलाई शत्रुजस्तो प्रतिस्पर्धी देख्छ,’ डा. वानले बेइजिङबाट फोनमार्फत भने । ‘यो अभूतपूर्व अवस्था हो, जुन पहिले कहिल्यै देखिएको थिएन ।’
वर्षौंसम्म, अमेरिकी कलेज तथा विश्वविद्यालयहरूले बढ्दो संख्यामा अन्तरराष्ट्रिय विद्यार्थी आकर्षित गर्दै आएका थिए, जसले प्राय: पूरा शुल्क तिर्ने हुँदा घरेलु विद्यार्थीहरूको पढाइलाई अप्रत्यक्ष रूपमा सहयोग पुगेको थियो । तर, हालै ट्रम्प प्रशासनले भिसामा आएका सयौं विद्यार्थीलाई देश निकाला गर्ने कदमले साथै चीनसँगको व्यापार युद्धले यस्तो डर बढाएको छ कि अमेरिका अब अन्तरराष्ट्रिय विद्यार्थीका लागि स्वागतयोग्य स्थान होइन । यस साता प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरूको सूची बुझाउन पनि भनेको छ, जसले क्याम्पशहरूमा थप डरको वातावरण सृजना गरेको छ ।
अमेरिका अब सुरक्षित छैन
स्नातकोत्तर स्कूलहरूको परिषद्का अध्यक्ष सुजाने ओर्टेगाले भने, ‘भिसा रद्द गर्ने झमेलाले धेरै विद्यार्थीहरूमा डर बढाएको छ । मेरो विचारमा यसले उनीहरूको घरमा रहेका आफन्त र साथीहरूलाई स्पष्ट सन्देश दिन्छ कि अमेरिका अब बस्न सुरक्षित स्थान होइन ।’ यदि अमेरिकाले अन्तरराष्ट्रिय विद्यार्थीहरूका लागि शत्रुतापूर्ण छविको विकास गर्यो भने यसले देशका धेरै कलेज र विश्वविद्यालयहरूलाई गहिरो क्षति पुर्याउन सक्छ ।
२०२३–२४ शैक्षिक सत्रमा अमेरिकामा ११ लाखभन्दा बढी अन्तरराष्ट्रिय विद्यार्थीहरू रहेका थिए, जसमा स्नातकपछि थोरै समय कामको अनुभव लिन बस्ने विद्यार्थीहरू पनि समावेश छन् । रिपोर्टअनुसार, न्यूयोर्क विश्वविद्यालय, नोर्थइस्टर्न विश्वविद्यालय र कोलम्बिया विश्वविद्यालय अन्तरराष्ट्रिय विद्यार्थीहरू सबैभन्दा बढी भर्ना गराउने संस्थाहरू हुन् । न्यूयोर्क विश्वविद्यालयमा त पछिल्लो १० वर्षमा उनीहरूको संख्या २५० प्रतिशतले बढेको छ ।
विदेशी विद्यार्थी गुमाउनु अमेरिकाको व्यापक अर्थतन्त्रका लागि पनि खराब मानिन्छ । अन्तरराष्ट्रिय विद्यार्थीहरूले सन् २०२३ मा अमेरिकी अर्थतन्त्रमा झन्डै ४४ अर्ब डलर योगदान पुर्याएका थिए र ३७८,००० रोजगारी सृजना गरेका थिए ।
क्रेडिट रेटिङ एजेन्सी मुडिजले संघीय नीतिगत परिवर्तनहरूलाई खतरा ठहर गर्दै गत महीना उच्च शिक्षा क्षेत्रमा ‘नकारात्मक’ मूल्याङ्कन गरेको थियो । ट्रम्प प्रशासनले कानून उल्लङ्घन गर्ने वा विदेश नीतिमा खतरा पुर्याउने विद्यार्थीहरूलाई लक्षित गरिरहेको छ ।
विदेश मन्त्री मार्को रुबियोले भने, ‘भिसा कसैको अधिकार होइन ।’ उनले भने, ‘हामी भिसा दिने र फिर्ता लिने विषयमा सावधानी अपनाउनेछौं ।’
‘हामी देशमा क्रान्तिकारी कार्यकर्ता भित्त्याउने छैनौं,’ उनले थपे । ‘विद्यार्थीहरू यहाँ पढ्न आएका हुन्, कक्षामा जान आएका हुन् । उनीहरू यहाँ आन्दोलन गर्न आएका होइनन् ।’
क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका अर्थशास्त्री डा. गौरव खन्नाले भने, ‘स्थानीय विद्यार्थीहरूका लागि ढोका खुला राख्न विदेशी विद्यार्थीलाई भित्त्याउनु आवश्यक छ ।’ उनका अनुसार अन्तरराष्ट्रिय विद्यार्थीहरूबाट आएको आम्दानीले कतिपय सार्वजनिक विश्वविद्यालयहरूलाई २००८ को आर्थिक मन्दीमा जोगाएको थियो ।
उच्च शिक्षाक्षेत्रका नेताहरूले चिन्ता व्यक्त गर्दै भनेका छन् कि विद्यार्थी संख्यामा गिरावट आउनुले उत्कृष्ट दिमागहरूलाई अमेरिका आउनबाट रोक्न सक्छ । एमआईटीका अध्यक्ष स्याली कोर्नब्लुथले भने, ‘हाम्रो संस्था अन्तरराष्ट्रिय विद्यार्थी र विद्वान्विनाको अवस्थामा गम्भीर रूपमा कमजोर हुनेछ ।’
‘अनपेक्षित रूपमा भिसा रद्द हुने खतराले विश्वभरका प्रतिभाहरूलाई अमेरिका आउनबाट रोक्नेछ,’ उनले क्याम्पसलाई सन्देश दिँदै भनिन् । ‘यसले वर्षौंदेखिको अमेरिकी वैज्ञानिक नेतृत्वलाई हानि पुर्याउनेछ ।’
बोस्टन कलेजका प्रोफेसर क्रिस ग्लासका अनुसार विज्ञान र प्रविधिका ५० हजारदेखि ७५ हजार अन्तरराष्ट्रिय स्नातकोत्तर विद्यार्थी संघीय अनुदान कटौतीबाट प्रभावित हुन सक्छन् । सामान्य रूपमा हेर्दा, अन्तरराष्ट्रिय विद्यार्थीहरूको संख्या २०१४–१५ पछि पहिलोपटक १० लाखभन्दा तल झर्न सक्ने सम्भावना देखिएको छ । न्यूयोर्क टाइम्सको विश्लेषणअनुसार ट्रम्प प्रशासनले २२२ ओटा विद्यालयमा १ हजार ५०० भन्दा बढी विद्यार्थीको भिसा रद्द गरिसकेको छ । केहीलाई त देश निकाला गर्ने प्रयास गरिएको छ । लन्डनबाट आएका २२ वर्षीय अन्तरराष्ट्रिय विद्यार्थी प्याट्रिकले भने, ‘विद्यार्थीहरूमा ठूलो त्रास छ ।’ उनले त्रासका कारण आफ्नो थर वा विश्वविद्यालय खुलाउन मानेनन् ।
‘मैले केही समयअघि सबै टेक्स्ट म्यासेजहरू डिलिट गरेँ,’ उनले भने, ‘तर, म अझै अमेरिका फर्केर अन्तिम वर्ष पढ्न चाहन्छु र त्यसपछि १ वर्ष बस्नेछु ।’
ट्रम्पको पहिलो कार्यकालमा पनि अन्तरराष्ट्रिय विद्यार्थीहरू कम भएका थिए । २०१७ मा उनले सात मुस्लिम बहुल देशबाट यात्रा प्रतिबन्ध लगाएपछि धेरै विश्वविद्यालयले आवेदन घटेको बताएका थिए । महामारीको समयमा यो गिरावट अझ बढेको थियो ।
डा. खन्नाले भने, ‘केही विश्वविद्यालय यस्ता छन् जसले संकट झेल्न सक्छन् । तर, अरूलाई भने यो गाह्रो हुनेछ ।’ अब विद्यालयहरू भविष्यमा विद्यार्थी घट्ने चिन्तामा छन् । राष्ट्रिय शिक्षा तथ्यांक केन्द्रअनुसार सन् २०३२ सम्ममा उच्च विद्यालय उत्तीर्ण विद्यार्थीहरूको संख्या ३.८ मिलियनबाट घटेर ३.५ मिलियन हुनेछ ।
पहिलो कार्यकालमा केही कलेजहरूले विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्ने प्रयास गरेका थिए । तर, अब त उनीहरू भर्ना गरिसकेका विद्यार्थीहरूको उद्धार गर्नमै व्यस्त छन् ।
नोर्थइस्टर्न विश्वविद्यालयका ४० विद्यार्थी र स्नातकहरूको भिसा रद्द भएपछि, विश्वविद्यालयले उनीहरूलाई टाढाबाट पढ्न दिने वा अन्तरराष्ट्रिय क्याम्पशहरूमा स्थानान्तरण गर्ने विकल्प दिएको छ ।
‘अब भविष्यमा के हुन्छ भन्ने स्पष्ट छैन,’ डा. खन्नाले भने, ‘अमेरिकाले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँछ कि गुमाउँदैन भन्ने ठूलो प्रश्न हो ।’
न्यूयोर्क टाइम्समा प्रकाशित सामग्रीको नेपाली सार ।