बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको 'पर्याप्त' भन्सार शुल्क घटाउने संकेत गरेको एक दिनपछि चीनले वाशिङ्टनसँग व्यापार वार्ताका लागि ‘ढोका व्यापक रूपमा खुला’ रहेको जनाएको छ।
आफ्नो आक्रामक व्यापार नीतिबाट विश्व बजारमा केही राहत प्रदान गर्दै ट्रम्पले मंगलबार अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका थिए।
जनवरीमा ह्वाइट हाउसमा पुनः पदभार सम्हालेपछि ट्रम्पले चीनबाट आयात हुने थुप्रै वस्तुहरूमा १४५ प्रतिशतसम्मको अतिरिक्त भन्सार शुल्क लगाएका थिए।
शुरुआतमा यो शुल्क फेन्टानिल आपूर्तिको शृङ्खलामा चीनको कथित भूमिकाको प्रतिकृया स्वरूप लगाइएको थियो भने पछि वाशिङ्टनले अनुचित मानेका व्यापार अभ्यासहरूलाई समेत समेटिएको थियो।
यसको जवाफमा बेइजिङले अमेरिकी वस्तुहरूमा १२५ प्रतिशतसम्मको व्यापक प्रति–भन्सार शुल्क लगाएको थियो। तर, बुधबार चीनले पुनः वार्तामा सहभागी हुन इच्छुक रहेको स्पष्ट पारेको छ।
“चीनले प्रारम्भदेखि नै भन्सार शुल्क युद्ध र व्यापार युद्धमा कुनै विजेता हुँदैन भन्ने बताउँदै आएको छ। वार्ताका लागि ढोका अहिले पनि व्यापक रूपमा खुला छ,”चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने ।
राष्ट्रपति सी जिनपिङले बुधबार भनेका छन्, “व्यापार युद्धले सबै राष्ट्रको वैध अधिकार र हितलाई कमजोर पार्छ, बहुपक्षीय व्यापार प्रणालीलाई क्षति पुर्याउँछ र विश्व आर्थिक व्यवस्थामा असर गर्छ।”