विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा बेवारिसे सम्पत्ति कति होला ? यो प्रश्नको उत्तरले तपाईंलाई साँच्चिकै आश्चर्यमा पार्नेछ । किनभने त्यहाँ हालै गरिएको एक अध्ययनले ५८ अर्ब डलरभन्दा बढी नगद र जिन्सी सामान लामो समयदेखि कसैले दाबी गर्न नआएर अलपत्र रहेको देखाएको छ । अध्ययनअनुसार दशौं लाख अमेरिकीले दाबी गर्न भुलेका ती सम्पत्तिमा परित्यक्त बैंक खाता, दाबी नगरिएका नसाँटिएका चेक, शेयर होल्डिङ, जीवन बीमा भुक्तानी र लिन बिर्सिएका निवृत्तिभरण बढी छन् ।
नेशनल एशोसिएशन अफ अनक्लेम्ड प्रोपर्टी एडमिनिष्ट्रेटर्सका अनुसार आमअमेरिकीले बिर्सिएका ती सम्पत्तिको सबैभन्दा ठूलो अंश हाल संघीय सरकारहरूसँग छ । यसको आकार झण्डै ४१ अर्ब ७० करोड डलर रहेको एशोसिएशनले उल्लेख गरेको छ ।
अझ रोचक त के भने तिनमा बैंकहरूका सेफ डिपोजिट बक्समा नगदसँगै हीरा, मदिराका बोतल र सार्डिन नामक महँगो माछालाई पनि त्यतिकै छाडिएको छ । त्यसैगरी पेन्सन बेनिफिट ग्यारेण्टी कर्पोरेशनले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रसमेतका झण्डै ३८ हजार कर्मचारीले निवृत्तिभरण लिन बिर्सिएको उल्लेख गरेको छ ।
एक रोजगारदाताबाट अर्कोमा काम गर्न जाँदा आफू पहिले काम गरको संस्थाले निवृत्तिभरणबापत भत्ता उपलब्ध गराउँछ भनेर कतिपय कर्मचारीलाई ज्ञान नहुनुले यस्ता हुने कर्पोरेशनको भनाइ छ ।
वर्ष ८, अंक १३३, बुधवार, १७ माघ, २०६९