सबै बैंक तथा वित्तीय संस्थाले अबदेखि विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न पाउने भएका छन् । बुधवार राष्ट्र बैंकले परिपत्रमार्फत यस्तो निर्देशन दिएको हो । यसअघि वैदेशिक शेयर लगानीमा स्थापना भएका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र त्यस्ता कार्यालय खोल्न पाउँथे । विदेशमा व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने उद्देश्यले इजाजत प्राप्त वित्तीय संस्ंथालाई निर्धारित मापदण्ड पूरा गरी सम्पर्क/प्रतिनिधि कार्यालय स्थापना गर्न अनुमति दिने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए ।
त्यस्ता कार्यालय स्थापना गर्न चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम चुक्ता पूँजी पुर्याएको, १ प्रतिशत ‘बफर क्यापिटल’ (थप जोखीमबापतको व्यवस्था) कायम गरेको, विगत ३ वर्षदेखि निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम रहेको, संस्था तथा सञ्चालकलाई राष्ट्र बैंकद्वारा कुनै कारबाही भएको भए त्यसको ६ महीना पूरा भएकोलगायत मापदण्ड पूरा गर्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ । यी मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाले सैद्धान्तिक सहमतिका लागि सञ्चालक समितिको निर्णय, सम्भावित देशमा नियामक निकायको नीतिगत व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धता, सम्भावना अध्ययन प्रतिवेदन र विगत ३ वर्षको वार्षिक वित्तीय प्रतिवेदन पनि पेश गर्नुपर्ने छ । यस्तो कार्यालय स्थापना गर्न अनुमति पाएको संस्थाले अनुमति पाएको मितिले ६ महीनाभित्र कार्यालय स्थापना गरिसक्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।
वर्ष ८, अंक १३५, शुक्रवार, १९ माघ, २०६९