काठमाडौं । नेप्सेको वृद्धि भएक दिन पनि टिकेन । आइतवार १२ अंक बढेको नेप्से सोमवार भने १५ दशमलव ४१ अंक घटेर बन्द भएको छ । नेप्से परिसूचक १ हजार ९६९ दशमलव ०२ विन्दुमा कायम भएको छ । यसबाट पनि लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ । लगातार पाँच कारोबार दिन घटेको नेप्से आइतवार दोहोरो अंक बढेपछि अब बजार विस्तारै लय समात्ने लगानीकर्ताको अपेक्षा थियो । तर त्यो अपेक्षामै सिमित भयो ।
तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको नाफा घटेको छ । यस कारण पनि विक्रेता हाबी भएको अनुमान लगाउन सकिन्छ । यसोत: पछिल्लो समय कारोबारीहरुले केही प्रोफिट हुने वित्तिकै बुक गर्छन । जसको कारण एक दिन बढ्ने वित्तिकै बजार भोलिपल्ट घटेको हुन्छ ।
लामो समय देखि घटेको बजारमा कम्पनीहरुको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ भने ब्याजदर पनि घटिरहेको छ । यस्तो अवस्थामा पनि लगानीकर्ता सक्रिय हुन सकेका छैन । अव नियामक निकायले शेयर बजार सुधारका लागि नितिगत रुपमा सुधार गर्नु पर्ने जानकारहरु बताउँछन् ।
सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८० प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ८१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९४ प्रतिशत घटेको छ । ३२० धितोपत्रको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर ३८ हजार ५५२ पटकमा रू. २ अर्ब ५ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी पिपुल्स पावर कम्पनीको शेयर मूल्य ६ दशमलव ९१ प्रतिशत बढेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ६५० पुगेको हो । त्यस्तै दोस्रोमा प्रभु स्मार्ट फण्डको इकाई मूल्य ५ दशमलव ८० प्रतिशत बढेर रू. ८ दशमलव ९४ पुगेको छ ।
सोमवार सबैभन्दा बढी दोल्ती पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ३७ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ४५१ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव २४ प्रतिशत घटेर रू. ६५० कायम भएको हो ।
पछिल्लो किहिदिन यता सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा गोर्खाज फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ११ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ७५४ दशमलव ६० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जोशी हाइड्रोपावर कम्पनीको रू. १० करोड १० लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये एक समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको सूचक २ दशमलव १० प्रतिशत घटेको हो भने म्युचुअल फण्ड समूहको शून्य दशमलव ०२ प्रतिशत बढेको छ ।