विराटनगर । जग्गाको मुआब्जाका विषयमा परेको मुद्दा सर्वोच्च अदालतले स्थानीयको मागदाबी नपुग्ने भन्दै खारेज गरिदिएपछि कटहरी–१ मा रहेको २६ बिगाहा जमीनमा रेलवे स्टेशन बन्ने भएको छ ।
- बुधनगरदेखि कटहरीसम्मको रेल्वे ट्र्याक र यार्ड बनाउन तयार भयो इरकन
भारतको बथनाहादेखि नेपालको कटहरीसम्म अन्तरदेशीय कार्गो रेल सञ्चालनका लागि यो स्टेशन महत्त्वपूर्ण पूर्वाधार हो । नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला उनी र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले २०८० जेठ १८ गते संयुक्त रूपमा कार्गो रेल सेवा उद्घाटन गरेका थिए । तर, उद्घाटनको दिनपछि मालवाहक कार्गो रेल कटहरी आएको छैन ।
लामो समयदेखि मुआब्जा विवादको कारण विराटनगरको बुधनगरसम्म आएको रेलवे ट्र्याकको अन्तिम जक्सन कटहरी गाउँपालिकासम्म पुग्ने र त्यहाँ रेलवे यार्ड बनाउने काम अधुरै थियो । तर, सर्वोच्चले मुआब्जाको विषय टुंग्याइदिएपछि भारतीय रेलवे निर्माण गर्ने कम्पनी इरकनले काम थाल्ने भएको हो ।
बुधनगरस्थित नेपाल कस्टम यार्डबाट १० दशमलव १ किलोमीटर रेलवे बनाउने काम अब शुरू हुने इरकनले बताएको छ । नेपालस्थित भारतीय दूतावासले इरकनलाई मुआब्जा समस्या समाधान भएको र अब विराटनगरको बुधनगरदेखि कटहरी गाउँपालिकासम्म रेलवे ट्र्याक र रेलवे जक्शनको यार्ड बनाउन कुनै समस्या नरहेको भन्दै काम थाल्न पत्र पठाएपछि बथनाहा–कटहरीको रेलवे निर्माणले गति पाउने भएको हो ।
काम अघि बढाउन रेलवे विभागले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्रले भारतीय दूतावासलाई रेलवे निर्माणमा अब समस्या नरहेको जानकारी दिँदै काम अघि बढाइदिन आग्रह गरेको थियो । नेपालस्थित भारतीय दूतावासबाट आफूले पत्र पाइसकेको र अब चाँडै नै टेन्डरको काम शुरू गर्ने इरकोनका निर्देशक दीपक कुमारले आर्थिक अभियानलाई बताए ।
उनले विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) बाट १० दशमलव १ किलोमीटर रेलवे ट्र्याक र कटहरीमा स्टेशनसहित यार्ड बनाउन टेन्डर प्रक्रियामा जाने र वर्षा सकिएसँगै निर्माणको काम शुरू गर्ने बताए । उनका अनुसार झन्डै ७० करोड भारतीय रुपैयाँ लागतमा ट्र्याक र यार्ड निर्माण गरिनेछ ।
भारतको बथनाहादेखि कटहरीसम्मको रेलवेको लम्बाइ १८ दशमलव १ किलोमीटर हो । भारततर्फ ५ किलोमीटर र नेपालको आईसीपीसम्म ३ किलोमीटर गरी ८ किलोमिटर ट्र्याक निर्माण सम्पन्न भइसकेको छ । नेपाल कस्टम यार्डसमेत निर्माण सम्पन्न भइसकेको छ । नेपाल कस्टम यार्डबाट कटहरीसम्म १० दशमलव १ किलोमीटर रेलवे ट्र्याक निर्माण हुन बाँकी छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले मुद्दा खारेजीसँगै रेलवे स्टेशन बनाउने जग्गाको विवाद समाप्त भएकाले १५ वर्षअघि शुरु हुनुपर्ने काम बल्ल शुरू हुन लागेको जानकारी दिए ।