काठमाडौं । सडक यातायातको पहिलो नागढुंगा शुरूङमार्ग आयोजनाको मुख्य शुरूङ खन्ने काम सम्पन्न भएको छ । २ दशमलव ६८८ किलोमीटरको मुख्य शुरूङ खन्ने काम सोमवार सम्पन्न भएको हो । पहुँचमार्गसहित गरेर यो परियोजनाको कुल लम्बाइ ५ दशमलव ४९९ किलोमीटर छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा सोमवार शुरूङको बाँकी अंश छेडिएको हो । यससँगै २०७६ कात्तिक ४ गते शिलान्यास भएको नागढुंगा शुरूङमार्गको मुख्य शुरूङ खन्ने काम सम्पन्न भएको छ । सडक निर्माणमा शुरूङ खन्ने काम एकदमै कठिन र खर्चिलो मानिन्छ । यो परियोजनाको हकमा उक्त काम सकिएको छ ।
उक्त अवसरमा प्रधानमन्त्री दाहालले नेपाल औपचारिक रूपमै सडक शुरूङमार्गको युगमा प्रवेश गरेको बताए । ‘आज (सोमवार)को दिन नेपाल आधुनिक शुरूङमार्गको युगमा प्रवेश गरेका छ, जुन ऐतिहासिक छ,’ दाहालले भने, ‘यो पूर्वाधारको नयाँ गन्तव्य पनि हो ।’
उनले यो शुरूङमार्गको उपयोगबाट औद्योगिक वस्तुहरूको लजिस्टिकमा लाग्ने लागत र समय घट्ने तथा उत्पादनको लागत पनि घट्ने बताए । उनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा पनि सडक शुरूङजस्ता पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहने बताए ।
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले विभिन्न समयमा विविध कारणले साइटमा अवरोध हुँदा निर्धारित समयभन्दा केही ढिला भएको बताए । क्षतिपूर्तिमा चित्त नबुझाई केही स्थानीयले बीचमा शुरूङमार्ग निर्माणमा अवरोध गरेका थिए । कोरोना महामारीले पनि यो सडक निर्माणमा असर गरेको थियो । २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास हुँदा परियोजना ४२ महीनामा सक्ने उद्घोष भए पनि शुरूङमात्र खन्न ५३ महीना लाग्यो । सरकारी अधिकारीका अनुसार सडक सञ्चालनमा आउन अझै समय लाग्नेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले शुरूङ खन्ने काम सकिए पनि साइटमा अझै प्रशस्त काम बाँकी रहेको बताए । उनका अनुसार शुरूङभित्र सडक कालोपत्र, लाइनिङका साथै फ्लाइओभरको काम अझै बाँकी छ । ‘यी कारणले शुरूङमार्गबाट सवारी चल्न अझै केही समय कुर्नुपर्नेछ,’ सचिव सिग्देलले भने । यो शुरूङमार्गको भौतिक प्रगति ७३ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ६६ दशमलव ८१ पुगेको आयोजनाले बताएको छ ।
सडक विभागका एक अधिकारीका अनुसार पूरै काम सकेर सडक सञ्चालनमा ल्याउन अझै १ वर्ष लाग्नेछ । यो सडक उपयोग गरेबापत सवारीसाधन चालकले निश्चित शुल्क तिर्नुपर्ने छ । त्यसबाट उठेको रकमबाट लिएको ऋण तिर्ने सरकारी योजना छ ।
थानकोटको नागबेली उकालोको कारण हाल यात्रामा समय लामो लाग्ने गरेको छ । यो शुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाबाट सिस्नेखोलासम्म पुग्ने साविकको दूरी २ दशमलव ८ किलोमीटरले घट्ने आयोजनाले बताएको छ । काठमाडौं आउँदा ३३ मिनेट र बाहिर जाँदा २३ मिनेट समय बचत हुने आयोजनाले उल्लेख गरेको छ । जापान सरकारबाट १६ अर्ब ६६ करोड रुपैयाँ सहुलियत ऋण लिएर यो परियोजना बनिरहेको छ । सरकारले यो ऋणमा शून्य दशमलव शून्य १ प्रतिशत ब्याज तिर्नुपर्छ ।
शुरूङमार्गमा आपत्कालीन शुरूङ भने गत साउनमै छेडिएको थियो । यो शुरूङ आपत्कालीन अवस्था–एम्बुलेन्शहरूको आवतजावत, मुख्य सुरूङमा कुनै सवारी साधान बिग्रे– मा प्रयोग हुनेछ । मुख्य शुरूङबाट आपत्कालीन शुरूङमा प्रवेशका लागि सातओटा वल्लोबाट पल्लोमा जाने ‘क्रस प्यासेज’ बनेका छन् । अन्य भागमा मुख्य र आपत्कालीन शुरूङबीच लामो पर्खाल छ ।
कार्यक्रममा जापानी प्रतिनिधिले विभिन्न समयमा देखिएका चुनौतीबीच शुरूङ खन्ने काम सकिएको बताए । उनले नागढुंगामा नयाँ प्रविधि भित्रिएको भन्दै यहाँ सिकेको शीप र प्रविधि अन्य आयोजनामा पनि अनुसरण हुने अपेक्षा व्यक्त गरे ।
सरकारले थप शुरूङमार्ग बनाउने योजना पनि सार्वजनिक गरिसकेको छ । सरकारले वैशाख १६ र १७ गतेका लागि तयार गरेको लगानी सम्मेलनमा पनि सडक शुरूङमार्गमा निजी लगानी आकर्षित गर्न खोज्नेछ ।
सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न ५ स्थानमा शुरूङ बनाउन लगानी आह्वान गर्नेछ । लगानी बोर्ड नेपालले तयार पारेको परियोजना सूचीमा हेम्जा–नयाँपुल सडक खण्ड, थानकोट–चित्लाङ सडक खण्ड, दाउन्ने सडक खण्ड, धरान–लेउती सडक खण्ड र मलेखु–लोथर सडक र शुरूङमार्ग रहेका छन् । सडक विभागले यीबाहेक अन्य सडक खण्डमा पनि शुरूङमार्ग आवश्यक रहेको भन्दै अध्ययन प्रतिवेदन तयार गर्दै आएको छ ।
विभिन्न राजमार्ग तथा सहायक राजमार्गमा हुँदै आएको मानवीय क्षति कम गर्न र यातायात सेवालाई भरपर्दाे, सुरक्षित र कम दूरीमै गन्तव्यमा पुग्न सघाउने उद्देश्यले सरकारले शुरूङमार्ग निर्माणलाई बजेटमा समेट्दै आएको छ । तैपनि प्रस्तावित सिद्धबाबासहित विभिन्न अन्य शुरूङमार्ग तयारीको क्रममा मात्र छन् ।